सेयर धितोमा जाने कर्जा १७.६% ले घट्यो, ५० लाख भन्दा थोरैको कर्जामा आकर्षण



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने कर्जा १७.६ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाले ८७ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । असार मसान्तमा बैंकहरुबाट जाने सेयर धितो कर्जा १ खर्ब ६ अर्ब २८ करोड ३९ लाख रुपैयाँ थियो ।

राष्ट्र बैंकका अनुसार बैंकहरुले प्रवाह हुने कर्जामा १ करोड रुपैयाँभन्दामाथिञको कर्जा र ५० लाखदेखि १ करोडसम्म जाने कर्जाको आकार घटेको छ । तर २५ देखि ५० लाख र २५ लाख रुपैयाँसम्मको कर्जामा भने बढोत्तरी देखिएको छ ।

राष्ट्र बैंकका अनुसार १ करोडभन्दा माथिको सेयर धितोमा जाने कर्जा २८.६ प्रतिशतले घटेको छ । असार मसान्तमा ७३ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा जेठ मसान्तमा आइपुग्दा २८.६ प्रतिशतले घटेर ५२ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ मात्रै छ ।
यस्तै ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कर्जाका ७ प्रतिशतले घटेको छ । गत असार मसान्तमा १२ अर्ब १ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा जेठ मसान्तमा आइपुग्दा ११ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकमको ऋण सेयर धितोमा जान नसकेको भएपनि साना आकारको ऋण प्रभावमा भने कमी आएको छैन । २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितोकर्जा १४.३ प्रतिशतले बढेर १५ अर्ब २७ करोड रुपैयाँ रहेको छ । असार मसान्तमा १३ अर्ब ३५ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

यस्तै २५ लाख रुपैयाँसम्म जाने सेयर धितोकर्जा १६.८ प्रतिशतले बढेर ८ अर्ब ६१ करोड ८३ लाख रुपैयाँ रहेको छ । असार मसान्तमा ७ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ थियो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एकजना लगानीकर्ताले अधिकतम १२ करोड रुपैयाँ र एउटा बैंकबाट अधिकतम ४ करोड रुपैयाँ सेयर धितोमा कर्जा लिने पाउने व्यवस्था गरेसँगै १ करोड रुपैयाँभन्दा बढी प्रवाह हुने ऋण क्रमशः घट्दै गएको छ ।

मौद्रिक नीतिले उक्त व्यवस्था गरेसँगै सेयर लगानीकर्ताले यस्तो व्यवस्था हटाउन माग गरेका छन् । तर, केन्द्रीय बैंकले त्यसलाई स्वीकार गरेको छैन । जसको असर बजारमा देखिएको जानकार लगानीकर्ताहरुको तर्क छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएसँगै सेयर धितोमा जाने कर्जा न्यून देखिएको बताइन्छ ।


क्लिकमान्डु