ल्याण्डफिल साइट पुग्ने सडक निर्माणका लागि समन्वय भइरहेको छः मेयर शाह



काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले ल्याण्डफिल साइट पुग्ने सडक निर्माणका लागि सडक विभागसँग समन्वय भइरहेको बताएका छन् ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

बर्षातको समयमा हुने सडक समस्याको कुरा उठाएपछि प्रमुख शाहले निर्माण हुन बाँकी रहेको सडक खण्ड चाँडै बनाइसक्न आफूले समन्वय गरिरहेको बताए ।

‘काठमाडौंका सडकमा भएको सबै फोहोर उठाउन तपाईँहरुलाई कति समय लाग्छ ?’ छलफलका क्रममा शाहले प्रश्न गरे । प्रतिनिधिहरुले पूर्ण क्षमतामा ढुवानी गर्न पाए ३ दिनभित्र फोहोर उठाइसक्ने बताए ।

फोहोरमैला व्यवस्थापन संघ, नेपाल (स्वमान) का महासचिव मीत्र घिमिरे र वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालले फोहोर बर्गीकरण गर्ने महानगरको योजनालाई प्रभावकारी भएको बताए ।

छलफलका क्रममा फोहोर ढुवानी गर्ने सवारी साधनबाट लिचेड चुहिने समस्या समाधान गर्ने विषय पनि उठेको थियो ।


क्लिकमान्डु