सेबोन नेतृत्वले सस्तो लोकप्रियताका लागि ब्रोकर सिध्याउन खोजेको आरोप, संघले बुझायो ज्ञापनपत्र



काठमाडौं । धितोपत्र बोर्डको नेतृत्वले सस्तो लोकप्रियताका लागि ब्रोकरलाई सिध्याउन खोजेको आरोप लागेको छ ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले बोर्डमा ज्ञापनपत्र बुझाउँदै सेबोनले पुराना ब्रोकर कम्पनी सिध्याउन खोजेको आरोप छ ।
धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गर्ने निर्णय गरी संशोधनका लागि अर्थ मन्त्रालयमा पठाउँदा ब्रोकरसँग समन्वय नगरेको भन्दै रुष्ट बनेको छ ।

एसोसिएसनले सोमबार बोर्डमा ज्ञापनपत्र बुझाउँदै अर्थमन्त्रालयमा बिचाराधिन रहेको मस्यौदामा व्यवसायीहरुको पनि राय सुझाव समेटिनेगरी पुनः छलफल चलाउन आवश्यक रहेको सुझाव रहेको जनाएको छ । एसोसिएसनले धितोपत्र बोर्डमा नै फिर्ता ल्याइ गहन अध्ययन गराइ तथ्य तथा सबै सम्बन्धित पक्षको राय सुझावका आधारमा अघि बढ्न अनुरोध गरिएको छ ।

आधारहिन अध्ययनका आधारमा ब्यक्तिगत सस्तो लोकप्रियताका लागि गरिएको संसोधन प्रस्तावले हाल संचालनमा रहेका व्यव्सायीहरुलाई व्यवसाय छोडन बाध्य पार्ने, अन्य उत्पादनमुलक क्षेत्रमा पुँजीको कमी भइरहेको अवस्थामा सिमित सम्भावना रहेको धितोपत्र दलाल व्यवसायमा अधिक पुँजी लगानी गर्न हौस्याइ यसमा गरिएको जनताको लगानीलाई जोखिममा पार्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘नियमावली हामी धितोपत्र दलाल व्यवसायीहरुसँग प्रत्यक्ष सम्बन्धीत नियमावली रहेको तर बिगतमा यस्ता सम्बन्धित नियम कानुन परिमार्जन गर्नुपुर्व हामी व्यवसायिहरुसँग पनि राय सुझाव लिइने परम्परालाई बेवास्ता गर्दै उक्त नियमावलीमा संसोधन गर्न मस्यौदा गर्नुपुर्व हामी सँग कुनैपनि राय सुझाव नलिइ अस्वभाविक हतारोमा रातारात ल्याइएको हुँदा एकातिर हामीले हाम्रो अभिभावकको रुपमा रहेको नियामक कतै हराएको होकि भन्ने आभास गरेका छौं’ ज्ञापनपमा भनिएको छ, ‘अर्कोतफ उक्त संसोधन प्रस्ताव समग्र धितोपत्र बजार तथा हामी व्यवसायीहरुको हितमा छ भन्ने कुरामा हामी बिस्वसत हुन सकेका छैनौं ।’
उक्त नियमावली धितोपत्र दलाल व्यवसायीहरुसँग प्रत्यक्ष सम्बन्धित नियमावली रहेको तर बिगतमा यस्ता सम्बन्धित नियम कानुन परिमार्जन गर्नुपुर्व व्यवसायीहरुसँग पनि राय सुझाव लिइने परम्परालाई बेवास्ता गरेको एसोसिसनको दाबी छ ।

‘संचालनमा रहेका व्यवसायीहरुबाट भौगोलिक रुपमा बजारको तथा सेवाको बिस्तार हुन नसकेको भन्ने तथ्यहीन आरोप तथा नियमित चक्रमा चल्ने बजारमा आएको गिरावटबाट बजारलाई उकास्ने बहानाका आधारमा उक्त मस्यौदामा प्रस्ताव गरिएको धितोपत्र दलाल व्यवसयिको संख्या वृद्धिको प्रावधानले दसकांैदेखि कायम व्यवसायीको निष्ठा तथा इमान्दारितालाई समाप्त गरेको हामीले महसुस गरेका छौं’ ज्ञापन पत्रमा भनिएको छ, ‘यसबाट हामी व्यवसायि अत्यन्तै चिन्तित र दुखी भएका छौं ।’
बिगत तिन दशकदेखि बजारको सारथिका रुपमा रहेका व्यवसायीले ओपन आउट क्राइ, सेमि अटोमेटेड कारोबार प्रणालीहुँदै आजको अनलाइन कारोबार प्रणालिको अवलम्बन र सफल प्रयोगमा नियामक र बजार संचालकलाई पुर्ण रुपमा सहयोग गर्दै आएको स्मरण गराएको छ ।

‘भौतिक प्रमाणपत्र कारोबार हुँदाका विभिन्न झमेला र कामको बोझ सहि रातभरि कार्यालमै बसी राफसाफ कार्यलाई नियमित गरेकै थियौं । अभौतिक धितोपत्रको मात्र कारोबार हुने ब्यव्सथा लागु गर्न लाखौंको संख्यामा रहेका प्रमाणपत्रहरुको बिना कुनै शुल्क अभौतिकिकरण गरेकौ हौं’ ज्ञापन पत्रमा भनिएको छ, ‘राफसाफ प्रत्याभूति कोष र अक्सन मार्केट जस्ता बजारका आधारभुत पुर्वाधारहरुको स्थापनामा नियामक र बजार संचालकनै अग्रसर नदेखिएको अवस्थामा पनि आफ्नो जायजेथाबाट क्षति ब्यहोरेरै भए पनि बिगत तिन दशकमा कुनै पनि लगानीकर्ताले खरिद गरेको एक कित्ता सेयर र बिक्री गरेको एक रुपैयाँ नगद गुमाउनु पर्ने अवस्थाको सृजना हुन नदिइ बजारको बिश्वसनियता कायम गरेकै हौं ।

बजारका यति बिघ्न बाधाब्यवधानहरु सहेर बजारलाई आजको यो अवस्थामा ल्याएका हामी व्यवसायिलाई आज काम गर्न केही सहज परिस्थितिको सृजना हुने बित्तिकै कुनै अवसर नै नदिइ कुनै परिक्षण नै नगरी अयोग्यताको ट्याग लगाएर अपहेलित गर्दै व्यवसायबाट बिस्थापित हुने बाताबरणको सृजना गरिदा आजको नेपाल धितोपत्र बोर्डले बजारको सम्पुर्ण इतिहास बिर्सिएर हामीलाई राम्रो पुरस्कार दिएको छ भन्ने हामीलाई लागेको छ । यसबाट हामी अत्यन्तै मर्माहित भएका छौं ।’

व्यवसायीले बजार तथा सेवाको बिस्तारका लागि गरेका बहुसंख्यक अनुरोधलाई नियामकबाट नै बेवास्ता गरिएको, यस्तो बिस्तारका लागि नियामकबाट आजसम्म कुनैपनि निति निर्देशन जारि नभएको, व्यवसायिबाट के कति कारणले बिस्तार सम्भव नभएको भनि एउटा पनि अध्ययन नियामकले नगराएको सन्धर्भमा नियामकलेनै व्यवसायिहरु माथि झुठो आरोप लगाइ अन्य कुनै पनि बित्तीय क्षेत्रका नियामकहरुले जोखिम हुने ठानि अवलम्बन नगरिएको खुला बजारको सिद्धान्तको नारा दिइ संख्यामात्र थप्न खोज्नु असल नियमनको सिद्धान्त बिपरितको कार्य रहेको हाम्रो ठहर छ ।

सेवा बिस्तार गर्न दशकौंदेखि विभिन्न सेवा थप्न माग गर्दै आएकोमा ती मध्ये एउटा मार्जिन कारोबारको मात्र कार्यबिधि लागु भइ व्यवसयीले तीन आर्थिक बर्षको नविकरण शुल्क बुझाएर नविकरण गर्दा पनि नियामककै अनिच्छाले गर्दा अगाडि बढाउन नसकिएको उल्लेख छ ।

बजारको बिस्तारका लागि अन्तर्राष्ट्रिय अभ्यास अनुसार सब ब्रोकर, आधिकारिक प्रतिनिधि र शाखा रहित बैंकिङका लागि बाटो खोलिदिन बारम्बार अनुरोध गर्दा पुर्णरुपमा बेवास्ता गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

एकदमै खर्चिलो माध्यमको रुपमा रहेको शाखा खोल्न पनि सिमित संख्यामा र त्यो पनि बर्सौ लगाउने गरिएको हुँदा हामी व्यवसायीमाथि लगाइएको आरोप र त्यस आरोपका आधारमा गरिएको संसोधन प्रस्ताव नियामकको असक्षमतालाई ढाकछोप गर्ने एउटा प्रपन्चको रुपमा मात्र रहेको एसोसिएसनको दाबी छ ।

राफसाफमा निहित जोखिम बढ्ने र अन्त्यमा गर्न सक्ने र क्षमतावान टिक्ने नाममा सिमित समुहको नियन्त्रणमा धितोपत्र दलाल व्यवसाय पुग्ने वातावरण सृजना भइ समग्र बजार नै असन्तुलित हुने व्यवसायीका बुझाइ छ ।


क्लिकमान्डु