अर्थमन्त्रीले भने- सीसीटीभीको क्षमता मैले कसरी थाहा पाउँछु ? छानबिन समिति गठन गरेकोमा धन्यवाद



काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले आफूविरुद्ध संसदीय विशेष छानबिन समिति गठन भएकोमा धन्यवाद दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले भने, ‘सहमतिमा संसदीय छानबिन समिति बनेकोमा म धन्यवाद दिन चाहन्छु ।’

उनले प्रतिपक्ष दलले आफूमाथि पूर्वाग्रह राखेको भन्दै राजीनामा मागिएको विषयमा आफूले सम्मान गर्ने बताए ।

मन्त्री शर्माले आफूले सीसीटीभी फुटेज डिलिट नगरेको भन्दै आफूलाई त्यसको क्षमता थाहा नभएको बताए ।

‘वर्षौ अगाडि जडान गरेको सीसीटीभीको क्षमता मैले कसरी थाहा पाउँछु ?, अब यो घटनाबाट मन्त्रीले सीसीटीभीबारे जानकारी लिनुहोला,’ उनले भने ।

उनले नेकपा एमालेका नेता योगेश भट्टराईलाई जवाफ दिँदै आफू संसदमा आएर बोल्न नपाउने र कसरी नैतिकता गुमाएँ भन्दै प्रश्न समेत गरे ।

अर्थमन्त्री शर्मा बोल्नु अघि भट्टराईले छानबिन समिति गठन भइसकेको अवस्थामा मन्त्रीले राजीनामा दिनुपर्ने र मन्त्रीका रुपमा संसदमा बोल्न नहुने माग गरेका थिए ।

‘छानबिन समिति गठन भइसकेपछि उहाँले राजीनामा दिनुपर्छ, मन्त्रीबाट राजीनामा नदिँदै यहाँ आएर बोल्ने नैतिकता हुँदैन, सांसदका रुपमा भने आएर बोल्न सक्नुहुन्छ,’ भट्टराईले भने ।

मन्त्री शर्माले आफू जेठ १४ गते राति ११ बजे मन्त्रालयबाट मन्त्री क्वार्टरमा पुगेको र जेठ १५ गते विहान ६ बजे मन्त्रालयमा पुगेको समेत बताए ।

अर्थमन्त्री बोल्ने समयमा एमाले सांसदहरु बहिस्कार गर्दै बाहिरिएका थिए ।


क्लिकमान्डु