अर्थमन्त्रीविरुद्ध संसदीय छानबिन समिति गठन हुने, एमालेको अडान- पहिले राजीनामा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माविरुद्ध संसदीय छानबिन समिति गठन हुने भएको छ । यसका लागि राजनीतिक दलबीच सहमति भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक विशाल भट्टराईले छानबिन समिति गठन गर्नका लागि सत्ता पक्ष सहमत भएको क्लिकमाण्डूलाई जानकारी दिए ।

‘सत्तापक्ष संसदीय छानबिन समिति गठनका लागि सहमत भएको छ, तर एमालेको पहिलो सर्त समिति गठन हुनुअघि अर्थमन्त्रीको राजीनामा नै हो,’ भट्टराईले भने ।

भट्टराईले बुधबारको दिउँसो २ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीलाई बोल्न नदिने बताए ।

‘गम्भीर आरोप लागेपछि मन्त्रीले संसदमा उभिएर बोल्नु हैसियत राख्नुहुन्न, त्यसैले एमालेले उहाँलाई बोल्न दिँदैन,’ उनले भने ।

बजेट निर्माणका क्रममा अधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर परिवर्तन गराएको आरोपमा यतिबेला अर्थमन्त्री शर्माको चौतर्फी आलोचना भइरहेको छ । उनीमाथि राजीनामा दिनुपर्ने दबाब बढेको छ ।

मंगलबारको मन्त्रिपरिषदको बैठकमा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले समेत अर्थमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका थिए । तर अर्थमन्त्रीले राजीनामा नदिने बताएका थिए ।


क्लिकमान्डु