प्रधानमन्त्रीको निर्देशन अनुसार सबैलाई ब्रोकरको लाइसेन्स खुल्ला गरियोः बोर्ड अध्यक्ष हमाल



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्रधानमन्त्री शेरबहादुर देउवाको मार्गनिर्देशन अनुसार सबैलाई सेयर ब्रोकरको लाइसेन्स खुल्ला गर्ने नीति लिएको बताएका छन् ।

बोर्डको सञ्चालक समितिले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ मा संशोधन गर्दै हरेक वर्ष ब्रोकरको लाइसेन्स खुल्ला गर्ने नीति लिएको हो ।

बोर्डको सञ्चालक समितिले अर्थमन्त्रालयमा पठाएको नियमावली मन्त्रिपरिषद्ले पारित गर्नुपर्छ ।

‘धितोपत्र दलाल सेवामा सबैको पहुँच बढाउनका लागि लाइसेन्स सबैलाई खोल्ने नीति लिइएको हो, प्रधानमन्त्री र अर्थमन्त्रीले यसमा मार्गनिर्देशन दिनु भएको थियो,’ हमालले क्लिकमाण्डूसँग भने ।

धितोपत्र बोर्डले सेयर किनबेचका लागि २० करोड चुक्ता पुँजी चाहिने व्यवस्था गरेको छ । अहिलेको साधारण सेयर खरिदबिक्रीका लागि २० करोड चुक्ता पुँजी चाहिने व्यवस्था गरिएको छ । यस्तै लगानी परामर्श सेवा, निक्षेप सदस्य तथा मार्जिन कारोबारको लागि ६० करोडको चुक्ता पुँजी चाहिने व्यवस्था गरिएको छ ।

अहिले सञ्चालनमा रहेका स्टक ब्रोकरले निक्षेप सदस्यको समेत सेवा उपलब्ध गराउने हुँदा उनीहरुले आफ्नो चुक्ता पुँजी बढाएर ६० करोड पुर्याउनुपर्ने देखिएको छ ।

यसबाहेक धितोपत्र व्यापारीको रुपमा संस्थागत लगानीकर्ताको समेत काम गर्ने गरेर १ अर्ब ५० करोड रुपैयाँको पूँजी राख्नुपर्ने व्यवस्था गरिएको छ ।

बोर्डका अध्यक्ष हमालले बजारमा सबैको लाइसेन्स खुल्ला गरेपनि न्यूनतम पुँजी २० करोड राख्नुपर्ने बाध्यता रहेको बताए ।

‘ब्रोकरको सुझाव अनुसार चुक्ता पुँजी २० करोड राखेको हो, बैंक र बीमा जस्तै पुँजी पुर्याउन नसक्नेहरु मर्जर गर्दा हुन्छ,’ हमालले भने ।

बोर्डले सेयर लगानीकर्ताले लामो समयदेखि उठाउदै आएको बैंकको सहायक कम्पनीलाई समेत सेयर ब्रोकरको लाइसेन्स खुल्ला गर्ने काम नियमावली संसोधनबाट भएको जानकारी दिए ।

नियमावली अनुसार योग्यता पूरा गर्ने कम्पनीले सेयर ब्रोकरको लाइसेन्स पाउने हुँदा बैंक तथा बीमा कम्पनीको सहायक कम्पनीले ब्रोकरको लाइसेन्स पाउनेछन् ।


क्लिकमान्डु