बजेट निर्माणमा चौधरी ग्रुपको संलग्नता पुष्टि गर्न निर्वाणको चूनौती, भने- छानबिन होस्



काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणमा अधनिकृत व्यक्ति प्रवेश गराइएको विषयमा अर्थमन्त्री जनार्दन शर्मा आलोचित बनेका छन् ।

उक्त विषयमा छानबिन गर्न र तत्काल अर्थमन्त्रीले राजीनामा दिनुपर्ने विषयहरु अहिले तातो बहसको विषय बनेको छ । अर्थमन्त्रीले बजेटको अघिल्लो रात अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई बोलाएर करका दरहरु हेरफेर गरेको आरोप लागेको छ । जसमा चौधरी ग्रुपलाई समेत मुछिएको छ ।

यसै सन्दर्भमा चौधरी ग्रुपका तर्फबाट निर्वाण चौधरीले स्पिष्टकरण दिएका छन् ।

चौधरीले सामाजिक सञ्जाल ट्विटरमा चौधरी ग्रुपको बजेट निर्माण प्रक्रियामा कुनै चासो र सरोकार नरहेको र आफूहरुको संलग्नताका बारेमा विना आधार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी भइरहेको उल्लेख गरेका छन् ।

उनले सम्बन्धमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन समेत सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् । उनले संलग्नता पुष्टि भए कारबाही भोग्न तयार रहेको बताएका छन् ।

चौधरीको ट्विट

बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहन्छौं । यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ । साथै, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौं । र, यस सम्वन्धमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौं । यस मामिलामा यदि हाम्रो संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौं । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नका लागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ । धन्यवाद ।


क्लिकमान्डु