१० लघुवित्तको औसत ब्याजदर १५% भन्दाबढी, कुन कम्पनीको कति ?



काठमाडौं । दश वटा लघुवित्त वित्तीय संस्थाको कर्जाको ब्याजदर औसतमा १५ प्रतिशतभन्दाबढि रहेको पाइएको छ ।

लघुवित्त वित्तीय संस्थाहरूलाई उनीहरूका ग्राहकहरूसँग लिने ब्याजदर अधिकम १५ प्रतिशतसम्म निर्धारण गर्न सक्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । तर, १० लघुवित्तले उक्त सीमाभन्दा बढी ब्याजदर कायम गरेका हुन् ।

हाल ७० लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन् । लघुवित्तमध्ये २ वटा संस्थाले सर्वसाधारणबाट निक्षेप स्वीकार गर्छन् भने ६८ संस्था सर्वसाधारणबाट निक्षेप संकलन गर्दैनन् । साथै, ४ वटा संस्थाले थोक कर्जा कारोबार र ६६ वटा खुद्रा कारोबार गर्छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ को औसत ब्याजदर १५ प्रतिशतभन्दा बढी रहेको देखिएको हो ।

औसत सीमाभन्दा सीमाभन्दा बढी ब्याजदर कायम गर्ने लघुवित्तमा डिप्रोक्स, मिथिला, फरवार्ड, लक्ष्मी, सूर्यादय, मानुषी, यूनिक, सामुदायिक, बुद्धज्योति र नेष्डो लघुवित्त छन् ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार डिप्रोक्सको १५.६७, मिथिलाको १५.४८, फरवार्डको १५.२४, लक्ष्मीको १५.१८, सूर्यादयको १५.१४, मानुषीको १५.४०, यूनिकको १५.१०, सामुदायिकको १५.०८, बुद्धज्योतिको १५.०१ र नेष्डो लघुवित्तको कर्जाको ब्याजदर औसतमा १५.०१ प्रतिशत छ ।

गत आवको वक्यौता रकमको असुली गरी यस आवको ब्याज आम्दानीमा गणना गरिएको तथा निर्देशन कार्यान्वयनमा ढिलाइका कारण यी संस्थाहरूको कर्जामा औसत ब्याजदर १५ प्रतिशतभन्दा बढी देखिएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंक निरीक्षण तथा सुपरीवेक्षण विनियमावली, २०७४ का आधारमा स्थलगत निरीक्षण, गैरस्थलगत सुपरीवेक्षण, लक्षित स्थलगत निरीक्षण, विशेष निरीक्षण तथा अनुगमन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कोभिड-१९ को प्रभावको कारण कार्ययोजना अनुरूप निरीक्षण कार्य सम्पन्न गर्न नसकिएको बैंकको दाबी छ ।

एक वर्षको अवधिमा राष्ट्र बैंकले १४ लघुवित्त वित्तीय संस्थाहरूको स्थलगत निरीक्षण गरेको छ भने १ मात्र लघुवित्त वित्तीय संस्थाको विशेष स्थलगत निरीक्षण सम्पन्न गरेको छ ।


क्लिकमान्डु