लघुवित्तका शाखा ४ हजार नाघे, १ शाखाले १ हजार बढी सदस्यलाई सेवा दिँदै



काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको शाखा संख्या ४ हजार नाघेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्र्थिक वर्ष २०७७/७८ सम्मको लघुवित्त वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनअनुसार लघुवित्तका एउटा शाखाले १ हजारभन्दा बढी सदस्यलाई सेवा दिएको देखिएको हो ।

२०७७ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको शाखा संख्या ३ हजार ९४६ रहेकोमा २०७८ असार मसान्तमा १७.११ प्रतिशतले वृद्धि भई कुल शाखा संख्या ४ हजार ६२१ पुगेको हो ।

२०७८ असार मसान्तमा ७० लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।

७० वटा लघुवित्तमा ५१ लाख ९१ हजार ३ सय ६३ सदस्य छन् । तथ्यांकअनुसार लघुवित्त वित्तीय संस्थाको एउटा शाखाले औसतमा १ हजार १२३ सदस्यहरूलाई सेवा दिएको देखिएको हो ।

नेपाल राष्ट्र बैंककाअनुसार उल्लेखित शाखा संख्याहरूमा संस्थाको केन्द्रीय कार्यालय तथा क्षेत्रीय कार्यालयहरू समावेश गरिएको छैन । संस्थाहरूले ७ वटै प्रदेशहरूमा सेवा प्रदान गर्दै आएका छन् ।

लघुवित्त वित्तीय संस्थाहरूको शाखा प्रदेश १ मा ७७२ (१६.७१ प्रतिशत), मधेश प्रदेशमा ९५७ (२०.७१ प्रतिशत), बागमती प्रदेशमा ६५४ (१४.१५ प्रतिशत), गण्डकी प्रदेशमा ५५१ (११.९२ प्रतिशत), लुम्बिनी प्रदेशमा १०७५ (२३.२६ प्रतिशत) रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, कर्णाली प्रदेशमा १९८ (४.२८ प्रतिशत) र सुदुरपश्चिम प्रदेशमा ४१४ (८.९६ प्रतिशत) छ ।

२०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा शाखा संख्या सबैभन्दा बढी मधेश प्रदेशमा २२.६९ प्रतिशतले वृद्धि भएको देखिन्छ भने गण्डकी प्रदेशमा १०.२ प्रतिशत मात्र वृद्धि भएको देखिन्छ ।

२०७८ असार मसान्तमा कायम रहेका कुल ७० लघुवित्त वित्तीय संस्थामध्ये थोक कर्जा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको संख्या ४ र खुद्रा कर्जा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको संख्या ६६ छ । ती लघुवित्त वित्तीय संस्थाहरूमध्ये सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने प्रकृतिका ६८ छन् ।


क्लिकमान्डु