प्रधानमन्त्री रोजगार कार्यक्रम र दैनिक ज्यालादारीका जनशक्ति थपेर काठमाडौं सफा गरिँदै



काठमाडौं । काठमाडौं महानगरले सहरी सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन गरेको छ ।

महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो । यसअघि नियमित सरसफाईमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको वातावरण तथा कृषि व्यवस्थापन विभाग प्रमुख सरिता राईको भनाइ छ ।

सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ । पूर्व क्षेत्र (वडा नंं. ६, ७, ८, ९, १०, ३१ र ३२), पश्चिम क्षेत्र (१३, १४, १५, १६, १७ ) उत्तर क्षेत्र (१, २, ३, ४, ५, २६ र ३०) मध्य क्षेत्र (११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९) हुन् ।

एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ । रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरुको सफाइमा छुट्टै समूह बनाइएको छ । यस्तै तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ ।

खटाइएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेका छन् ।


क्लिकमान्डु