बुक बिल्डिङ विधिका लागि प्रभु, नेपाल लाइफसहित १०९ वटा संस्था योग्य संस्थागत लगानीकर्ताका रूपमा स्वीकृत (नामसहित)



काठमाडौं । धितोपत्र बोर्डले थप ३ सहित १०९ वटा संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको छ ।

बोर्डका अनुसार थपिएका ३ वटासहित योग्य संस्थागत लगानीकर्ताको संख्या १०९ वटा पुगेको हो । नयाँ कम्पनीमा प्रभु लाइफ इन्स्योरेन्स, एनएमबी सरल बचत फण्ड-इ र नेपाल लाइफ इन्स्योरेनस कम्पनी रहेका छन् ।

बोर्डमा दिएको निवेदनका आधारमा उनीहरुको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका ३ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति दिएको हो । यसअघि योग्य संस्थागत लगानीकर्ता १०६ वटा पुगिसकेका थिए ।

बोर्डले धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरेको छ ।

बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीति लगायतका विवरण र अध्ययनका आधारमा धितोपत्रको आशय मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक निष्काशनको मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत् धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्ने बताइएको छ ।


क्लिकमान्डु