५ अर्बसम्मको आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने



काठमाडौं । पाँच अर्ब रुपैयाँभन्दा कम लागतका आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

सरकारलले सार्वजनिक खरिद नियामवली २०६४, मा १२औं संशोधन गर्दै पहिलो चरणको बोलपत्र आह्वानमा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको हो ।

यसअघि ३ अर्ब रुपैयाँभन्दा कम लागतका आयोजनाको पहिलो चरणको बोलपत्रमा स्वदेशी कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था थियो ।

निर्माण व्यवसायीहरूले नियामवलीको ११औं संशोधनमा गरिएको व्यवस्था व्यवसायीको हितमा नभएको भन्दै विरोध गरेका थिए ।

११औं संशोधनमा त्यसअघि १० वर्षभित्रको अनुभवको व्यवस्थालाई हटाएर ५ वर्ष कायम गरिएकोमा १२औं संशोधनले भने पुरानै १० वर्षे अनुभवको व्यवस्थालाई निरन्तरता दिएको छ ।

त्यसैगरी, नियामवलीमा दुई करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको खरिद कार्य भएमा लागत अनुमानको कम्तीमा ४० प्रतिशत रकम बराबरको एउटा ठेक्का पाउने व्यवस्था गरेको छ । साथै, ५ करोड रुपैयाँभन्दा बढीको खरिद कार्य भएमा लागत अनुमानको कम्तीमा ६० प्रतिशत रकम बराबरको आयोजनाको ठेक्का पाउने व्यवस्था गरेको छ ।

साथै, बोलपत्रदाताको योग्यता आवश्यक पर्ने किसिमको मालसामान खरिद वा दुई करोड रुपैयाँभन्दा बढीको निर्माण कार्य गर्नु पर्दा बोलपत्रदाताले प्राविधिक र आर्थिक प्रस्ताव दुई अलग–अलग खाममा राखी पेश गर्नुपर्नेछ ।

त्यस्तै, एकल वा संयुक्त उपक्रमको रुपमा ५ वटा खरिद सम्झौता गरी सो सम्झौता बमोजिमको कार्य सम्पन्न गर्न बाँकी रहेका निर्माण व्यवसायीले यो उपनियाम प्रारम्भ भएपछि निर्माण कार्यको लागि आह्वान हुने खुल्ला बोलपत्र प्रक्रियामा एकल वा संयुक्त उपक्रमको रुपमा भाग लिन पाउने छैन ।


क्लिकमान्डु