अर्थतन्त्रका सबै सूचकमा दबाब छ, सम्बोधन गर्ने गरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र परेको संकटलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् ।

सोमबार आगामी वर्षको मौद्रिक नीतिको सुझाव संकलनका राष्ट्र बैंकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताए ।

गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्दान्तहरु नै यो वर्ष प्रयोग हुने अवस्था आएको बताए ।

असार अन्तिममा ल्याउने तयारी भए पनि साउनको पहिलो साता मात्रै मौद्रिक नीति ल्याउने बताए ।

‘अहिलेको अवस्था कस्तो हो भने संसारभरका अर्थशास्त्रीले प्रतिपादन गरेका सिद्दान्तहरु प्रयोग यतिबेला नै यही हो जस्तो लाग्न थालेको छ,’ उनले भने ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा बचत कमजोर हुँदै जाने र फजुल खर्चहरु बढ्दै गएको बताए । उनले फजुल खर्च गर्ने प्रवृत्तिमा सुधार नआएको बताए ।

गभर्नर अधिकारीले हाम्रो अर्थतन्त्र आयातमुखी भएकाले अर्थतन्त्रको बाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको बताए ।

अर्थतन्त्र आयातमुखी हुँदा यो वर्ष करिब ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको उनको भनाइ छ । पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने र त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने गरेकाले पनि बैंकिङ प्रणालीमा तरलताको समस्या भएको उनले बताए ।

बैंकको ब्याजदर बढ्दै जाने संकेत भएकाले उद्योगी व्यवसायीहरुले सहनुपर्ने उनको भनाइ थियो ।

गभर्नर अधिकारीले सरकार, राष्ट्र बैंक, निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

मौद्रिक नीतिहरु सर्पपनि मरोस्, लठ्ठी पनि नभाँचियोस् भन्ने गरी ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

गभर्नर अधिकारीले मौद्रिक नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा भएको भन्दै गत वर्ष ल्याएका प्रत्येक नीति अहिले प्रमाणित र कार्यान्वयन भइरहेको दाबी गरे ।

मौद्रिक नीति ल्याउँदा प्रत्येक व्यक्तिको पछि लागेर सम्भव नहुने भन्दै भोलिका लागि सहज, समग्र अर्थतन्त्रलाई पनि सही ट्रयाकमा राख्ने र अर्थतन्त्रको समग्र प्रणालीलाई स्थायीत्व दिने राष्ट्र बैंकले तयारी गरिरहेको बताए ।

गभर्नर अधिकारीले अहिलेको बैंकिङ तरलता कम गर्न राष्ट्र बैंकले झन्डै १११ अर्बको रिफाइनान्स, झन्डै २५० अर्बको एससेलएफ सुविधामार्फ्त साढे ३ खर्ब बैंकहरुलाई दिएको बताए ।

उनले बैंकको बेसरेट अझै प्रिकोभिडको लेभलमा नपुगेको भन्दै उनले बेसरेट र ब्याजदर अझै बढ्ने संकेत देखिएको बताए ।

गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरु अवैधानिक माध्यमबाट पैसा कमाउने कुरामा सतर्क रहनुपर्ने भन्दै उद्योग खोलेर अरुलाई रोजगारी र राज्यलाई कर तिरेको जति पनि पैसा बैंकमा जम्मा हुने बताए । उनले अवैधानिक रुपमा कमाएको पैसालाई बैंकिङ प्रणालीमार्फत् बाहिर ल्याउँछु भन्ने सोच्न नहुने बताए ।


क्लिकमान्डु