स्याम्पु आयातमा विदेशियो एक अर्ब
काठमाडौं । विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ ।
देशभित्र विदेशी मुद्राको सञ्चिति घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसददेखि नागरिकस्तरमा पनि यसबारेमा नियमितरुपमा चर्चा भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिति घटेको देखाइन्छ । तर राम्रो देखिनका लागि आयात गरिएको सौन्दर्यका सामग्रीको मात्रा हरेक महिना वृद्धि भएको पाइएको छ ।
ती सामानको आयातमा मात्रै अर्बौं बराबरको रकम विदेशिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ओठको शृङ्गारका सामग्रीको आयातमा मात्रै रु ३० करोड ८३ लाख ५१ हजार रकम बाहिरिएको छ ।
विशेषगरी महिलाले प्रयोग गर्ने लिपिस्टिकलगायतका सामग्रीको आयातमा उक्त परिमाणको रकम बाहिरिएको हो । स्वास्थ्यका दृष्टिले लिपिस्टिकको प्रयोगलाई राम्रो मानिँदैन ।
चालु आवको जेठ मसान्तसम्म कूल दुई लाख ३७ हजार ४२९ केजी बराबरको ओठ राम्रो बनाउने सौन्दर्यका सामग्री आयात भएको छ । ती सामग्रीको आयात गर्दा सरकारले ११ करोड ३७ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
भारतबाट मात्रै १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको करिब ४० हजार ७६३ केजी लिपिस्टिकलगायतका सामग्री आयात भएको छ ।
त्यस्तै चीनबाट एक लाख ९० हजार ६८७ केजी बराबरको सामग्री ११ करोड ६० लाख ४८ हजार रुपैयाँ मूल्यमा आयात भएको छ ।
यस्तै आँखाको शृङ्गारमा प्रयोग हुने सामानको आयातका लागिसमेत निकै रकम खर्च भएको छ । ती सामानको आयातका लागि २२ करोडभन्दा बढी रकम विदेशिएको छ ।
चालु आवको ११ महिनामा ९६ हजार ५३ केजी बराबरको त्यस्ता वस्तु आयात भएका छन् । जसका लागि २२ करोड ८१ लाख ९७ हजार रुपैयाँ बराबर रकम बाहिरिएको छ । यसबाट राज्यले आठ करोड ६४ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
आँखा सजावटका सामान भारतबाट मात्रै १० करोड ५६ लाख २६ हजार रुपैयाँ मूल्य बराबरको कूल छ हजार ६२९ केजी परिमाणमा आयात भएको छ ।
त्यस्तै चीनबाट रु छ करोड ९९ लाख २७ हजारमा ७८ हजार ३५३ केजी आयात भएका छन् । त्यस्ता वस्तु इटाली, कोरिया, लक्जम्वर्ग, अमेरिका, पोल्याण्डलगायत देशबाट आयात हुने गरेको विभागले सार्वजनिक गरेको विवरणमा छ ।
त्यस्तै मेकअपका अर्को सामानका रुपमा रहेको क्रिम पाउडरको आयातमासमेत करोडौं रकम खर्च हुने गरेको छ । विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा ९३ करोड ४९ लाख ९६ हजार रुपैयाँका क्रिम पाउडर आयात भएको छ जसबाट सरकारले ३५ करोड २९ लाख ८० हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।
यस अवधिमा विभिन्न मुलुकबाट चार लाख १७ हजार दुई केजी पाउडर खरिदका लागि २८ करोड ६६ लाख ४२ हजार रुपैयाँ मूल्य विदेशिएको छ । यो अवधिमा अनुहारमा लगाउने क्रिममात्रै ६४ करोड ८३ लाख ५५ हजार रुपैयाँ मूल्यमा दुई लाख ६२ हजार ७२५ केजी मुलुकमा भित्रिएको छ ।
विभागका अनुसार यस अवधिमा २४ हजार ४१८ लिटर नङमा लगाउने ‘नेलपोलिस’ आयात भएको छ ।
एघार महिनामा नेपालीले पाँच करोड नौ लाख २३ हजार रुपैयाँ मूल्य खर्च गरेर नेलपोलिस आयात गरेका छन् । मुख्यगरी त्यस्ता पोलिस चीन, भारत, कोरिया, क्यानडालगायतका मुलुकबाट आयात हुने गरेको पाइएको छ । यस अवधिमा चीनबाट दुई करोड ५८ लाख ४१ हजार रुपैयाँ तथा भारतबाट दुई करोड ३९ लाख १८ हजार रुपैयाँ बराबरको नेलपोलिस आयात भएको छ ।
४३ करोडभन्दा बढीको बडीलोसन
विभागको विवरणअनुसार जेठ मसान्तसम्म ४३ करोड ५७ लाख ५२ हजार रुपैयाँ मूल्यमा पाँच लाख सात हजार ५८८ केजी लोसन आयात भएको छ । त्यसबाट सरकारले १६ करोड ३३ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
भारतबाट मात्रै ३१ करोड ४२ लाख ६८ हजार रुपैयाँ मूल्यमा दुई लाख ८४ हजार २०२ केजी बराबरको लोसन आयात भएको छ । त्यस्तै थाइल्यण्डबाट पाँच करोड ७६ लाख ४५ हजार रुपैयाँ, इन्डोनेशियाबाट दुई करोड ६२ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरका लोसन आयात भएका छन् ।
महिलाले प्रयोग गर्ने सिन्दुरका आयातमा समेत लाखौँ खर्च हुने गरेको छ । एघार महिनामा ९८ लाख १५ हजार रुपैयाँ मूल्य बराबरको ४५ हजार ८०७ केजी सिन्दुर आयात भएको छ ।
सिन्दुर मुख्यगरी भारतबाट आयात हुने गरेको छ । विभागका अनुसार भारतबाट रु ९७ लाख ९२ हजार बराबरको सिन्दुर आयात भएको छ । त्यस्तै शृङ्गारका अन्य समानको आयातमा दुई अर्ब ८९ करोड रुपैयाँभन्दा बढी रकम विदेशिएको छ ।
स्याम्पु आयातमा एक अर्ब विदेशियो
हामीले नुहाउँदा प्रयोग गर्ने स्याम्पु आयातमा अर्बौं विदेशिने गरेको विवरण सार्वजनिक भएको छ ।
चालु आवको ११ महिनामा एक अर्ब आठ करोड १० लाख ५४ हजार रुपैयाँ बराबरको रकम स्याम्पु आयातमा खर्च भएको छ । करिब ५७ लाख ८० हजार लिटर स्याम्पु आयातमा उक्त रकम विदेशिएको हो ।
स्याम्पुको आयातबाट सरकारले भने रु ४६ करोड ४७ लाख ९० हजार राजस्व जम्मा गरेको छ । यसैबीच कपाल रङ्गाउनकै लागि प्रयोग हुने सामग्रीको आयातमा ५० करोड ५१ लाख २९ हजार रुपैयाँ बराबरको रकम मुलुक बाहिर गएको छ ।
एघार महिनाका अवधिमा कूल सात लाख ५८ हजार ७२६ केजी यस्ता रङ आयात भएको छ भने कपालमा लगाउने क्रिमका लागि छ करोड १७ लाख ६६ हजार रुपैयाँ बराबरको रकम मुलुक बाहिर गएको छ ।- रासस