सामाजिक सुरक्षा कोषले शुरू गर्यो स्वाचालित विद्युतीय प्रणाली, दाबी भुक्तानीका लागि कोष आउनु नपर्ने



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषले स्वाचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह शुरू गरेको छ ।

श्रममन्त्री शेरबहादुर कुँवरले सोमबार उद्घाटन गर्दै सो सेवा प्रवाह सञ्चालनमा ल्याइएको हो ।

श्रममन्त्रीले कोषले प्रदान गरेको स्वास्थ्य उपचार मा विद्युतीय प्रणालीमार्फत् भुक्तानी गर्ने सेवाले योगदानकर्तालाई सहज बनाएको बताए ।

उनकाअनुसार अनलाइन प्रणाली भुक्तानीबाट सहज, छिटो र सरल हुने भएकाले अझै अन्य सेवामा पनि विद्युतीयमार्फत व्यवस्थित गरिनेछ ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले स्वास्थ सेवामा कोषले शुरू गरेको विद्युतीय प्रणाली एक उपलब्धिमुलक कार्य भएको बताए । उनले यस प्रणाली देशभर नै विस्तार गर्दै लैजाने बताए ।

उनकाअनुसार अहिले रकम बोकेर जानुपर्ने बाध्यता छ । अबका दिनमा बिलहरू पेश गरेर रकम पाउने कार्यको न्यूनिकरणसँगै कागजी प्रक्रियाको अन्त्य हुनेछ ।

कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले ३ वर्षदेखि सञ्चालनमा आएको कोषले स्वास्थ्य सेवालाई सहजीकरण गर्न विद्युतीय प्रणाली सञ्चालनमा ल्याएको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदानकर्ताका लागि स्वास्थ्यका विभिन्न स्किमहरूलाई सहज बनाउन देशभरका १२६ वटा हस्पिटलसँग सम्झौता गरी सेवा प्रदान गर्दै आएको छ ।

सो सेवालाई सहज तरिकाले भुक्तानी गर्नका लागि कोषमा आवद्ध भएका योगदानकर्ताहरूले सहजै रकम भुक्तानी गर्न सक्ने उद्देश्यसहित विद्युतीय प्रणाली सञ्चालनमा ल्याएको हो ।

सम्झौता भएकोमध्ये हाल २६ वटाबाट विद्युतीय प्रणालीमार्फत् रकम भुक्तानी हुने उनले बताए । अहिलेसम्ममा १८ वटाबाट भने अनलाइनबाट नै दाबी भुक्तानी आउन थालेको कोषले जनाएको छ ।

विगतका दिनमा कुनै पनि योगदानकर्ताले कोषबाट स्वास्थ्य सुरक्षाबापतको रकम दाबी भुक्तानी गर्नका लागि कोषमा निवेदन दिनुपर्ने व्यवस्था थियो। उक्त आवेदन परेर प्रमाणीकरणा भएपछि मात्रै कोषले रकम प्रदान गर्थ्यो ।

तर, आजबाट भने सम्पूर्ण स्वास्थ्य सम्बन्धी उपचारको दाबी रकमका लागि कोषमा आवदेन दिनुपर्ने बाध्यता हट्नेछ ।

कोषले सञ्चालनमा ल्याएको विद्युतीय प्रणाालीका आधारमा कोषबाट वितरण गरेको कार्डको आधारमा उपचार रकम पाउने ज्ञवालीको भनाइ छ ।

‘योगदानकर्ताहरूले जुन जिल्ला वा स्थानमा भए पनि सम्झौता भएको अस्पतालमा गएर कोषको कार्डबाट उपचार पाउनेछन्,’ उनले भने, ‘अबका दिनमा आवेदन भरेर रकम बोकेर जानुपर्ने बाध्यता रहने छैन ।’

उनले कुनै पनि योगदानकर्ताले कार्डको आधारमा उपचार पाएको अवस्थामा अस्पतालले समयमै दाबी रकम कोषलाई पेश गरेमा सहज तरिकाले कोषबाट रकम भुक्तानी हुने उल्लेख गरे ।

साथै, यस प्रणाली कार्यान्वयनमा जाँदा योगदानकर्ताले स्वास्थ्य उपचारको लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम शोधभर्नाको कागजसहित कोष कार्यालयमा जानुपर्ने झन्झटको अन्त्य हुनेछ ।

कोषले स्वास्थ्य सम्बन्धी अ‍ैषधि उपचार, दुर्घटना उपचार गर्नका लागि योगदानकर्ताका लागि सेवा प्रदान गर्दै आएको छ ।

कोषले औषधि उपचार, स्वास्थ्य तथत मातृत्व सुरक्षाबापतको सुविधा लिँदा योगदानकर्ताले २० प्रतिशत भुक्तानी र बाँकी ८० प्रतिशत र दुर्घटनाबापतको सुविधा लिँदा शतप्रतिशत रकम नै कोषबाट नै स्वास्थ्य संस्थालाई भुक्तानी हुँदै आएको छ ।


क्लिकमान्डु