जसपाले तीन मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएको छ ।

भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहायक यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाइएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

पार्टीले रिक्त मन्त्रालयमा नयाँ मन्त्रीसमेत सिफारिस गरेको छ ।

भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई सिफारिस गरिएको छ ।

मन्त्रीमा सिफारिस भएका सांसद यादवले पार्टीले मन्त्री परिवर्तनका लागि सिफारिस गरेको जानकारी दिए ।

‘पार्टीले मन्त्रीहरु सिफारिस गरेको हो, शपथको टुङ्गो भएको छैन हामी प्रतीक्षामा छौं,’ उनले भने ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार साँझ बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका हुन् ।

जसपाभित्र छ महिनाका लागि मन्त्री पठाइएको भन्दै फिर्ता बोलाउन पहिलेदेखि नै माग भइरहेको थियो ।-रासस


क्लिकमान्डु