हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन



काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिएका छ्न ।

चितवनको पर्यटकीय नगरी सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएको विषयमा निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध जनाएपछि उहाँले हात्ती वनभोजका लागि एक रुपैयाँ पनि भुक्तानी नदिने स्पष्ट पारे ।

पर्यटन प्रवर्द्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले सरकारी हात्तीसार र निजी व्यवसायीले पालेका करिब ७० हात्तीलाई वनभोजका रुपमा केरा, चना, भुइँकटर, स्याउ, उखु, सखर, खर्बुजा र खिर खुवाइएको थियो ।

प्रदेश सरकारको आर्थिक सहयोग तथा चितवन निकुञ्जको सहकार्यमा हात्ती वनभोज कार्यक्रम गरिएको हो । चितवनको सौराहास्थित प्रदेश पर्यटन कार्यालय अवलोकन गर्न पुगेका पर्यटनमन्त्री श्रेष्ठले हात्ती वनभोज कार्यक्रको पनि शुभारम्भ गरेका थिए ।

उनले सफारी पर्यटनको विकासमा प्रदेश सरकारले उपस्थिति जनाउने भनेको उक्त कार्यक्रममा केही विरोधी समूहले नकारात्मक हल्ला फैलाएकाले हाललाई उक्त शीर्षकमा बजेट नदिन मन्त्रालयलाई निर्देशन दिएको बताए ।

उनले चितवनको पर्यटन विकासको लागि बाघमारा मध्यवर्ती सामुदायिक वनमा क्यानोपी वाक ब्रिज निर्माणको लागि प्रदेश सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

चितवनको पर्यटन प्रवर्द्धनका लागि हात्तीलाई खाना खुवाउन प्रदेश सरकारले पनि पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो तर स्थानीय केही व्यक्ति र समूहले प्रदेश सरकारले गरेको प्रतिबद्धतालाई विवादमा तान्न खोजेपछि पर्यटनमन्त्री श्रेष्ठ उक्त प्रतिबद्धताबाट पछाडि हटेको बताइएको छ ।

पर्यटन सचिव मदन कोइरालाले हात्ती वनभोजमा मन्त्रालयले भुक्तानी नदिने स्पष्ट पारे ।

सौरहाको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि हात्ती वनभोज कार्यक्रम मन्त्री श्रेष्ठ प्रदेशको उपस्थिति देखाउने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा प्रदेश सरकारले पनि वार्षिक सहयोग गर्नुपर्ने पक्षमा रहनुभएका मन्त्री श्रेष्ठ प्रतिबद्धतामै राजनीति हुन थालेपछि पछि हटेको जनाइएको छ ।

स्थानीय जनप्रतिनिधि तथा पर्यटन व्यवसायीको सहभागितामा भएको हात्ती वनभोज कार्यक्रमको सौराहाका व्यवसायीले विरोध गरेका थिए ।

क्षेत्रीय होटल सङ्घ चितवन, रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, नेचर गाइड एशोसिएशन र साना पर्यटन व्यवसायी समूहले हात्ती वनभोजको विरोध गरेका हुन् ।

उनीहरुले पर्यटन प्रवर्द्धनका लागि विनियोजन गरिएको बजेट दुरुपयोग गर्ने नियतले सङ्घसंस्थासँग सहकार्य नगरी हात्ती वनभोज कार्यक्रमको आयोजना गरिएको आरोप लगाएका छन् ।

यही असार १६ गते ‘पर्यटन प्रवद्र्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समिति’ नामक संस्थाले सौराहामा हात्ती वनभोज कार्यक्रम आयोजना गरेको थियो ।

यसैबीच विवाद बढेपछि वनभोजको आयोजक संस्थाले पत्रकार सम्मेलन गरी बजेट फ्रिज हुन लागेपछि मन्त्रालयकै आग्रहमा वनभोज कार्यक्रम गरिएको बताएको थियो ।

समितिका अनुसार वनभोज कार्यक्रममा हात्तीलाई खुवाउन एक लाख ६३ हजार ३०० रुपैयाँ, अतिथि सत्कारमा ४३ हजार ९१४ रुपैयाँ, प्रचारमा पाँच हजार रुपैयाँ र हात्तीसारेलाई कुची बनाएबापत ज्याला १० हजार रुपैयाँ खर्च भएको छ ।- रासस


क्लिकमान्डु