सन् २०२२ को छ महिनामा अर्बपतिहरुले गुमाए १.४ ट्रिलियन डलर



एजेन्सी । सन् २०२२ विश्वका डलर अर्बपतिहरुका लागि राम्रो रहेन । ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार यस वर्षको ६ महिनाको अवधिमा मात्रै विश्वका ५०० भन्दा बढी डलर अर्बपतिको सम्पत्ति १.४ ट्रिलियन डलरले घटेको छ ।

विश्वव्यापीरुपमा बढ्दो ब्याजदर र मुद्रास्फीतिका कारण उनीहरुको सम्पत्ति घटेको हो

यस अवधिमा विश्वका सबैभन्दा धनी व्यक्ति टेस्लाका मालिक एलन मस्कले मात्रै ६२ अर्ब डलर गुमाएका छन् । साथै, अमेजनका जेफ बेजोसले ६३ अर्ब डलर गुमाएका छन् ।

साथै, फेसबुकका संस्थापक मार्क जुकरबर्गले सन् २०२२ को छ महिनामा मात्रै आधा सम्पत्ति गुमाएका बताएका छन् । यद्यपि एलन मस्क अझै पनि विश्वको सबैभन्दा धनी व्यक्ति छन् । हाल एलन मस्कसँग २०८.५ अर्ब डलर सम्पत्ति छ भने बेजोससँग १२९.६ अर्ब डलर सम्पत्ति छ ।

भारतीय अर्बपति गौतम अडानी र मुकेश अम्बानीको सम्पत्ति क्रमशः ९८.६ अर्ब डलर र ९३ अर्ब डलर सम्पत्ति छ । अडानी विजश्वको छैटौ धनी व्यक्ति हुन् ।

उनको सम्पत्ति भने सोही अवधिमा २२.१ बिलियन डलरले बढेको छ । त्यसैगरी मुकेश अम्बानीको सम्पत्ति यस अवधिमा ३ अर्ब डलरले बढेको छ ।

लक्जरी ब्राण्ड टाइकुनको उपाधि पाएका ब्रनान्ड अर्नाउल्टको सम्पत्ति १२८.७ अर्ब डलर छ । जसले उनलाई विश्वको तेस्रो धनी बनाएको छ । साथै, चौथो स्थानमा रहेका बिल गेट्सको सम्पत्ति ११४.८ अर्ब डलर छ ।

यस अवधिमा सबैभन्दा बढी सम्पत्ति गुमाउनेमा बाइनान्स सीइओ चेनपेङ जाओ छन् । उनको सम्पत्ति ७९.८ बिलियन डलरले घटेको छ ।

रिपोर्टका अनुसार अमेरिका, जापान, चीन र जर्मनीमा सबैभन्दा धेरै धनी व्यक्तिहरु छन् । चार वटा देशमा मात्रै व्यक्तिगत सम्पत्ति ६४ प्रतिशत छ ।


क्लिकमान्डु