स्किल सेवालाई ४ कम्पनीबाट साढे ८ करोडको लगानी अफर, ३ हजारलाई तालिमपछि रोजगारी दिइने



काठमाडौं । घर मर्मतमा काम गरिरहेको स्किल सेवाले साढे आठ करोड रुपैयाँको लगानी जुटाएको छ । चार वर्षअघि तीन युवाले शुरु गरेको घर इन्स्पेक्सन गर्ने स्किल सेवा स्टार्टअपलाई चार कम्पनीले उक्त लगानी गर्ने प्रस्ताव गरेका छन् ।

नेपाल उद्योग परिसंघअन्र्तगतको युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेष्ट २०२२ मा तीन सय प्रतिस्पर्धीलाई उछिन्दै स्किल सेवा लगानीको लागि छनोट भएको हो ।

स्किल सेवाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेश तिमिल्सिनाले उक्त फेष्टमा चार कम्पनीले लगानी गर्न प्रस्ताव गरेको बताए ।

‘हाम्रो पिचलाई मन पराएर चार कम्पनीले लगानी गर्न प्रस्ताव गर्नु भएको छ,’ तिमिल्सिनाले भने, ‘हामीले साढे ८ करोड रुपैयाँको इक्विटी सेयरको लागि प्रस्ताव गरेका थियौं ।’

स्किल सेवामा लगानी गर्न प्रस्ताव गर्ने कम्पनीहरुमा ग्लोबल इक्वीटी फन्ड, टिम भेन्चर, टेली भेन्चर्स र आध्यान्ता फण्ड एण्ड म्यानेजमेन्ट रहेका छन् । यी कम्पनीमध्येबाट एक वा दुईसँग सहकार्य गर्ने तिमिल्सिनाले बताए ।

लगानीकर्ताले रकम लगानीमात्र नभएर व्यवस्थापनमा पनि सहयोग गर्ने गरी भित्र्याउन लागेको उनले बताए ।

‘हामीलाई फन्डमात्र भन्दा पनि म्यानेजमेन्टमा सहयाग गर्ने पार्टर चाहिएको छ,’ तिमिल्सनाले भने, ‘जसले म्यानेजमेन्टमा सहयोग गर्छ उहाँसँग हामी सहकार्य गर्ने छौं ।’

इक्वीटी सेयर गर्ने भए पनि कति गर्ने भन्ने सहमतिका आधारमा गर्ने बताए ।

कम्पनीलाई थप विस्तार गर्ने योजनाअनुसार नयाँ लगानी थप्न लागेको उनले बताए । नयाँ लगानीबाट मुख्य गरी ३ हजार प्राविधिकहरुलाई निःशुल्क तालिम दिएर कामको लागि तयार गर्ने योजना बनाएका छन् ।

अबको एक महिना भित्र तीन हजारलाई नि:शुल्क तालिम दिने र उनीहरुलाई आफ्नो कम्पनीमा जागिर दिने उनीहरुको योजना छ ।

इन्जिनियरिङ, ओभरसियर, प्लम्बर, इलेक्ट्रिसियन, कार्पेन्टरहरुलाई एक महिनाको विशेष कोर्ष दिने योजना उनीहरुको छ ‘तालिमपछि हामीले नै जागिर उपलब्ध गराउने छौं,’ तिमिल्सिनाले भनिन्, ‘यसमा केही लगानी हुनेछ ।’

त्यस्तै, उनीहरुले दसैअघि नै पोखरा र बुटबलमा नयाँ शाखा खोल्ने योजना बनाइरहेका छन् । त्यस्तै, भारतको न्यु दिल्लीमा पनि शाखा खोल्ने योजना बनाएका छन् । यी शाखा विस्तारमा पनि यो लगानी गर्ने योजना कम्पनीको छ ।

रमेशसँग उनलाई पार्टनरमा सहयोग गरिरहेका छन् महेश तिमल्सिना र रामशरण विक्रम थापा । स्किल सेवाले घरसँग सम्बन्धित हरेक समस्याको सामाधान गर्छ ।

अहिले घरहरुमा मुख्यगरी क्र्याक, सिपेज, स्टक्चर फेलियर, घर कोल्टिने, सेलटमेन्टलगायतका समस्याहरु बढी देखिन्छ । समस्याको संकेत देखिनेबित्तिकै समाधानको पहल नगर्दा धेरै खर्च गर्नुपर्छ ।

रमेशको अनुभवमा अहिले काठमाडौं उपत्यकाका घरहरुमा देखिएको सबैभन्दा ठूलो समस्या सिपेज हो । सिपेज भनेका घरको भित्तामा पानी रसाउने हो । यसले भित्ताको पेन्ट बिग्रिने, भित्ता बिग्रिने, नराम्रो देखिने समस्या हुन्छ र अन्ततः भित्ता कमजोर बनाउँछ ।

घर बनाउँदा गरिने गल्तीका कारण सिपेजको समस्या भइरहेको उनी बिताउँछन् ।

‘घरको पिलर र बिम बलियो भए पुग्छ भन्ने सोच धेरैमा छ,’ उलने भने, ‘त्यसले गर्दापछि घरमा अनेक समस्या आउन थाल्छन् ।’

पिलर र बिमलाई जति महत्व दिइन्छ, त्यत्तिकै अन्य पक्षलाई पनि ध्यान नदिँदा घरमा समस्या आउने उनी बताउँछन् । मान्छे स्वस्थ रहन छाला पनि स्वस्थ हुनुपर्छ भनेजस्तै घरको प्लास्टरदेखि सबै उत्तिकै महत्व दिएर बनाउनु पर्छ ।

अन्य पक्षमा कम्प्रमाइज गर्दा व्यक्तिगत साना घरदेखि व्यवसायी ठूला भवनमा दुई चार वर्षपछि समस्या आउने भइरहेको छ ।

भूकम्प पछि बनेका घरहरुमा सिपेज आउने समस्या अझ धेरै भएको उनको अनुभव छ । भूकम्पपछि मुलुकभर नयाँ पूर्ननिर्माण चल्यो । यसले गर्दा बजारमा मेनपावर कम भयो । ठेकेदार नै मिस्त्री र इन्जिनिय भएर घर बनाएपछि समस्या आउन थालेको उनी बताउँछन् । यिनै समस्याहरुको समाधान गर्छ स्किल सेवाले ।


क्लिकमान्डु