जेठसम्ममा १२१४ कम्पनी कारबाहीमा, साढे १ करोड जरिवाना



काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ११ महिनाको अवधिमा १२ सय १४ वटा कम्पनीलाई कारबाही गरेको छ । विभागले चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा गरेको अनुगमनबाट १२ सय १४ वटा कम्पनीलाई कारबाही गरेको हो ।

विभागले सो अवधिमा २७ सय २६ वटा फर्म, कम्पनी तथा संस्था अनुगमन गरेको थियो । जसमा विभागले १६८ वटा सामान्य अवस्थामा रहेको र अन्य १ हजार १९ वटा कम्पनीलाई सुधार गर्न निर्देशन दिएको जनाएको छ । त्यसमध्ये ६०९ वाट कम्पनीलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न बोलाएको थियो ।

तर, अन्य कम्पनीहरूले उपभोक्ता संरक्षण ऐन विपरीत काम गरेको भन्दै १२ सय १४ वटालाई जरिवाना गरेको विभागको निर्देशक हरि पंगेनीले बताए । जसमा विभागले कम्पनीलाई १ करोड ५३ लाख ७ हजार रुपैयाँ जरिवाना गरेको छ ।

साथै, विभागले ५४ लाख ५५ हजार रुपैयाँ बराबरको खाना अयोग्य वा म्याद सकिएको तत्कालै नष्ट गर्न लगाएको जनाएको छ ।

११ महिनाको अवधिमा विभागले ११६ वटा फार्मेसी, ७०४ वटा खाद्यान्न तथा किराना पसल, २०४ वटा कस्मेटिक तथा कपडा पसललगायत अन्य विभिन्न पसल तथा फर्ममा अनुगमन गरेका थिए । अनुगमनबाट १२ वटा कम्पनीको कारोबार रोक्का गरेको छ भने ३ वटा कम्पनीको व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।


क्लिकमान्डु