एमजीको बिक्रेता प्यारामाउन्टले गर्‍यो ८ महिनामै ३ अर्ब कारोबार, ७०५ वटा गाडी बिक्री



काठमाडौं । एमजी गाडीको नेपालका लागि आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले ८ महिनाको अवधिमै ३ अर्ब बढीको कारोबार गरेको छ । कम्पनीले सन् २०२२ को ८ महिनाको अवधिमै ३ अर्ब २८ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२२ को ८ महिनाको अवधिमा ७ सय ५ वटा युनिट गाडी बिक्री गरिसकेको जनाएको छ । यसअघि सन् २०२१ मा कम्पनीले १३७ वटा मात्रै सवारी साधन बिक्री गरेको थियो ।

कोरोना महामारीका कारण कारोबार निकै कम भएको कम्पनीले सन् २०२२ मा उच्चरुपमा कारोबार गरेको देखिन्छ । कम्पनीले सन् २०२१ मा ७१ करोड १० लाख रुपैयाँ र सन् २०२० मा ७९ करोड रुपैयाँको मात्रै कारोबार गरेको थियो ।

विशाल ग्रुपअन्तर्गतको प्यारामाउन्ट प्रालिले विद्युतीय सवारी साधन बिक्री वितरण गर्दै आएका छन् । कम्पनीले विद्युतीय अटो क्षेत्रमा आफ्नो बजार हिस्सा उच्चरुपमा बढाउँदै लगेको जनाएको छ । साथै, बजारमा उच्च माग रहेको कम्पनीको भनाइ छ ।

कम्पनीको सन् २०२० र २०१९ मा कारोबार घटेसँगै नाफा पनि घटेको थियो । जसमा कम्पनीले सन् २०२० मा १७.५८ प्रतिशत र सन् २०२१ मा ९.२० प्रतिशतले नाफा कमाएको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ८ महिनाको अवधिमा ४६ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीअनुसार सो अवधिमा १४.२ प्रतिशतले नाफा कमाएको हो ।

सन् २०१८ बाट एमजी सवारी साधनको बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२० देखि भने माज्दा मोटर कर्पोरेशन जापानको पनि आधिकारिक विक्रेताको रुपमा काम गर्दै आएका छन् ।

रेटिङ एजेन्सी केयर रेटिङले कम्पनीका लागि दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १ अर्ब ५५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि १५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ४० करोड रुपैयाँको रेटिङ दिएको छ ।

कम्पनीको अहिले काठमाडौं, विराटनगर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्जलगायत अन्य गरी १० वटा डिलर रहेको छ भने नक्सालमा शोरुम र धुम्बराही विरगञ्जमा सर्भिस सेन्टर रहेको छ । जसका गत वर्ष शोरुमबाट ९८ वटा कार र ३९ वटा कार डिरलबाट बिक्री गरेको थियो ।


क्लिकमान्डु