मेयर बालेन्द्रले सुरु गरेको हटलाईन ११८० मा नागरिकको प्रश्नः प्याकिङ् गरिएको पानी शुद्ध त छ नी ?



काठमाडौँ । बजारमा पाइने जार र बोतलमा प्याकिङ् गरिएको पानीको शुद्धता के हो ?

महानगरको हटलाइन ११८० मा नागरिकले सोधेको प्रश्न हो यो । शुद्धताका लागि मूल्य तिरेर किनेको पानी शुद्ध भएन भने किनेर पानी किन खानु ? शंखमुलबाट फोन गर्ने व्यक्तिको प्रश्न थियो । यो प्रश्नको उत्तरमा महानगरका स्वास्थ्यकर्मीको जवाफ थियो, ‘पानी जहाँको होस, उमालेर मात्र प्रयोग गर्नुहोस् ।’

हटलाइनमा सोमबार बेलुका ६ बजेदेखि फोन आउन थालेको हो । फोनमा जिज्ञासुहरुले काठमाडौँका कुन–कुन ठाउँमा हैजा फैलिएको छ ? ब्लिचिङ् पाउडर के हो ? कसरी प्रयोग गर्ने, यो पाउडर वितरण भएको छ कि छैन ? पानी जाँच कहाँ गर्ने ? हैजाका लक्षण के हुन् ? प्राथमिक उपचार के गर्ने ? घरमै केही औषधि छ कि जस्ता जस्ता प्रश्न गरेका छन् ।

त्यसैगरी पानी कसरी शुद्ध गर्ने ? शुद्ध गर्ने औषधिले स्वास्थ्यमा नकारात्मक असर गर्छ कि गर्दैन ? जस्ता प्रश्न पनि गरिरकेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कल सेन्टरमा स्वास्थ्य सम्बन्धी सूचना दिन २४ घण्टा टोल फ्रि नंम्बर ११८० सञ्चालनमा ल्याएका छन् ।

महानगरमा हैजा रोकथाम गर्न सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । पानीको स्वच्छता र वातावरणीय सरसफाइसँगै सेचतनामुलक र उपचारका कार्यक्रम गरिरहेको छ । यसका लागि हैजाको प्रकोप भएको ठाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयमसेविका र वास स्वयमसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने निर्णय भएको छ ।

हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ । यस्तै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।


क्लिकमान्डु