मूल्यवृद्धिका कारक तथा कठिनाइहरुः अर्पण पौडेलको लेख
सामान्य अर्थमा वस्तु तथा सेवाहरुको मूल्यमा आएको वृद्धि तथा मुद्राको क्रय क्षमतामा देखिएको क्रमिक ह्रासलाई मुद्रास्फीति भनिन्छ । जसलाई विभिन्न बृहत् तथा सुक्ष्म आर्थिक, मौद्रिक एवं परिस्थितिजन्य चरहरुले निर्धारण गरिरहेका हुन्छन् ।
मौद्रिक नीतिमार्फत् मुद्रास्फीतिलाई एक निर्दिष्ट दायरामा राखेर मूल्यस्थिरता कायम गर्ने हेतुले सम्बन्धित देशका केन्द्रीय बैंकहरु निरन्तररुपमा अभ्यासरत रहन्छन् ।
वर्तमान विश्व महामारीका कारणले वस्तु तथा सेवाको आपूर्तिमा देखिएको अबरोधका बीचमा क्रमिकरुमा चुलिँदो माग, श्रम बजारमा देखिएको अभाव, बढ्दो मूल्यवृद्धि, रुस र युक्रेनबीचको द्वन्द्व, पेट्रोलियम पर्दाथको मूल्यमा देखिएको अत्यधिक वृद्धि, अमेरिकी डलरको विनिमयमा कायम भएको अधिमूल्यन आदिजस्ता अनेकन बृहतचरहरुको एकमुष्ठ प्रभावकारुपमा वर्तमान समयमा विश्वको मुद्रास्फीति ७.८ प्रतिशतको हाराहारीमा पुगेको छ ।
जसलाई पछिल्लो समयमा विश्व बैंकबाट प्रकाशित ग्लोबल इकोनेमिक प्रोस्पेक्टमा २००८ पछिको उच्च विन्दुकारुपमा समेत उल्लेख गरिएको छ । यसरी विश्वव्यापीरुपमा बढ्दै गएको मुद्रास्फीति नियन्त्रण गर्न अधिकांश केन्द्रीय बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् भने कोभिड केन्द्रित नीतिगत लचकतालाई पनि क्रमशः कटौती गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२२ मा जस्तै सन् २०२३ मा पनि विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमात्रै कायम रहने प्रक्षेपण गरिसकेको छ । त्यसैगरी सन् २०२२ मा विकसित मुलुकहरुको औसत मुद्रास्फीति ५.७ प्रतिशत र उदियमान तथा विकासोन्मुख मुलुकहरुको मुद्रास्फीति ८.७ प्रतिशत रहने प्रक्षेपण भइसकेको छ ।
संयुक्त राज्य अमेरिकामा मुद्रास्फीति ८.३ प्रतिशतको रहेको देखिन्छ । जुन ४० वर्षयताकै बढी हो । भारतमा सन् २०२२ अप्रिलमा खुद्रा मूल्य सूचकांकको वृद्धिदर १७ महिनायताकै उच्च ७.७९ प्रतिशत रहँदा थोक मूल्य सूचकांक १५.०८ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तैगरी चीनको वर्तमान मुद्रास्फीति वार्षिक विन्दुगत आधारमा ०.८५ प्रतिशतबाट बढेर २.०८ प्रतिशत पुगेको छ । यस्तै पृष्ठभूमिमा नेपाली अर्थतन्त्रमा प्रतिबिम्बित भएका मुद्रास्फीति वा मूल्यवृद्धिका उत्प्रेरकहरु, परिणाम तथा असरलगायत मूल्यवृद्धिका प्रतिकुलता व्यवस्थापनका केही उपायहरुका बारेमा चर्चा गर्न खोजिएको छ ।
कारकहरु
कोरोना कहरबाट सिर्जना भएको लकडाउनलगायतका कारणले विश्वअर्थतन्त्रमा देखिएका विभिन्न श्रृङ्खलाहरुको बहुआयामिक गतिविधिहरु नै मूल्यवृद्धि वा मुद्रास्फीतिका प्रमुख कारकका रुपमा लिन सकिन्छ । यस्ता प्रभावहरुको प्राकृतिक विश्लेषण गर्दा मूलतः मूल्यवृद्धिका पछाडि निम्न प्रकारका चरहरु प्रमुख कारकारुपमा सक्रिय रहेको भेट्न सकिन्छ ।
माग निर्देशित कारकः अर्थतन्त्रतमा जब वस्तु तथा सेवा उत्पादनको सिमान्त वृद्धि दरभन्दा अधिक गतिमा बजारमा मुद्रा आपूर्ति बढ्न जान्छ तब माग निर्देशित गतिविधिहरुले बजारमा मूल्यवृद्धि गराउन थाल्छन् । यो वस्तु तथा सेवाको आपूर्तिमा देखिने अबरोधका बीचमा सरकारी खर्चमा वृद्धि, बैंकहरुको अधिककर्जा प्रवाह, परिस्थितिजन्य मौद्रिक राहतआदि जस्ता विविध कारणबाट बजारको क्रयशक्ति बढेको अवस्था पनि हो ।
कोरोनाको समयमा आपूर्तिमा अबरोध हुँदा राज्यले आफ्ना नागारिकहरुलाई प्रदान गरेका परिस्थितिजन्य सहुलियतहरु, संकलित वित्तीय तरलताको आडमा बैंकहरुले कर्जा प्रवाहमा देखाएको आक्रमकता जस्ता क्रियाकलापहरुले उपभोक्ताको समग्र मागमा सबलता सिर्जना गर्दै गर्दा श्रमशक्तिको अभाव, कच्चा पर्दाथहरुको अबरोधपूर्ण न्यून आपूर्तिका कारणले उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा ह्रास आउँदा विद्यमान मूल्यवृद्धिको अवस्था सिर्जना भएको पाइन्छ ।
लागत निर्देशित कारकः उपभोग्य वस्तु तथा सेवाहरुको उत्पादनका लागि आवश्यक विभिन्न गतिविधिहरुको लागतमा आएको वृद्धिको कारणले बस्तु तथा सेवाहरुको मूल्यमा देखिने वृद्धिलाई लागत निर्देशत गतिविधिहरु अन्र्तगत विश्लेषण गर्न सकिन्छ ।
वस्तु तथा सेवा उत्पादन, परिवहन तथा उपभोगको मेरुदण्डकारुपमा रहेको पेट्रोलियम पर्दाथको मूल्यमा आएको वृद्धि, अमेरिकी डलरको तुलनामा स्थानीय मुद्रामा देखिएको अवमूल्यन, श्रमबजारमा देखिएको अभाव, रसियाको युक्रेनमाथिको हमलाबाट सिर्जित आपूर्ति प्रणालीको अबरोध जस्ता कारकहरुको समग्र असरका रुपमा वर्तमान समयमा लागत वृद्धिको माध्ययमबाट समेत मूल्यवृद्धि चुलिँदो अवस्थामा देखिन्छ ।
अनुभूतिजन्य कारकः अर्थव्यवस्थामा विगतमा देखिएका मूल्यवृद्धिलाई आँकलन गर्दै वस्तु तथा सेवा उत्पादक तथा उपभोक्ताहरुले अनुभूतिजन्य आधारमा बजारको महंगीलाई सर्मथन गर्दा यस्तो किसिमको मूल्य वृद्धिको सिर्जना भइरहेको हुन्छ ।
यस्तै कारकहरुको तीव्र्रताका आधारमा मुद्रास्फीति घिस्रिदै बढ्ने, हिँड्ने, बेलगाम हुने तथा मुद्रास्फीतिजन्य मन्दीसम्मको मूल्यवृद्धिको दुश्चक्रमा आर्थिक क्रियाकलापहरु पर्ने अवस्था सिर्जना हुन्छन् । मुद्रास्फीतिका त्रासदी हेर्न सन् १९४५/४६ तिरको लगभग १५ घण्टामै वस्तु तथा सेवाहरुको मूल्य दोब्बर भएको प्रवृत्ति झेलेको हंगेरी, सन् २००७/८ तिरको लगभग २४ घण्टामै वस्तु तथा सेवाहरुको मूल्य दोब्बर हुने प्रवृत्ति देखेको जिम्बाबे, वर्तमान समयमा भेनेजुयलाले भोगेका श्रृङ्खलाहरुलाई लिन सकिन्छ । वर्तमान विश्वको अर्थतन्त्र विभिन्न अन्तरनिर्भित चरहरुमार्फत् जोडिएको हुनाले मुद्रास्फीतिको कहर एक राष्ट्रबाट अर्को राष्ट्रमा सरुवा रोगजस्तै फैलने प्रवृत्तिहरु देखिन्छ ।
बढ्दो मूल्यवृद्धिका स्थानीय असरहरु
चालु आर्थिक वर्षको १० महिनामा १६०४ अर्ब ६५ करोडको आयात तथा १७३ अर्ब ३५ करोडको निर्यातको अवस्था हेर्दा देशको आयात निर्यात अनुपात ९.२६ कायम भएको देखिन्छ ।
यसरी हेर्दा हामीले १ रुपैयाँ बराबरको निर्यात गर्दा करिब ९.२६ रुपैयाँ बराबरको आयात गरेका छौं । जसमा २० ओटा वस्तुको आयातले कुल आयातमा करिब ६२ प्रतिशत हिस्सा ओगटेको छ भने पेट्रोलियम पदार्थको आयातले मात्रै करिब १६ प्रतिशतको भार बोकेको छ ।
तत्थ्यहरुले संकेत गरे झैं हाम्रो अर्थतन्त्र आयातमुखी नै हो । हाम्रो आयातमा अधिकांश हिस्सा भारतले ओगटेको छ भने केही हिस्सा अन्य राष्ट्रहरुमा समेत केन्द्रित छ ।
आयातको चटारो धान्नकै लागि हामीलाई नियमितरुपमा भारतीय मुद्रा, अमेरिकी डलरआदि विदेशी मुद्राकोे अवश्यकता परिरहन्छ । हाम्रो विदेशी मुद्रा आपूर्तिको प्रमुख स्रोत भनेकै विपे्रषण आय हो । जसमार्फत् देशमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ८११ अर्ब ७९ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ ।
प्राप्त विप्रेषण आयलाई समग्र वस्तु आयात लागतका आधारमा हेर्दा करिब ५०.६० प्रतिशत हुन आउँछ जसले विप्रेषण आयतबाट देशको आयात केन्द्रित विदेशी विनिमय मागको करिब ५० प्रतिशतमात्रै परिपूर्ति गर्ने प्रवृत्ति देखाउँछ ।
आयातबाहेक पनि वैदेशिक क्रण तथा ब्याज भुक्तानीका लागि पनि विदेशी मुद्रा आवश्यक हुन्छ जसका लागि वार्षिक वित्त नीतिमार्फत् सरकारले अन्य विभिन्न विकल्पहरु जस्तै वैदेशिक क्रण, अनुदान, आन्तरिक पर्यटन क्षेत्र प्रवर्द्धनआदि जस्ता विविध व्यवस्था गरिएका छन् । जसको कार्यान्वयन भने अपेक्षकृतरुपमा भएको देखिँदैन । भारत तथा विश्वका अन्य देशहरुमा देखिएको मूल्यवृद्धिले उत्पादन महंगो भई नेपालले आयात गर्ने वस्तु तथा सेवाहरु पनि महंगो बन्दै गएबाट मूल्यवृद्धि पनि सँगसँगै आयात भएको देखिन्छ ।
वर्तमान समयमा अमेरिकी डलरको विनिमयको सर्वाधिक बन्दै गर्दा नेपाली मुद्रा कमजोर भएको छ जसबाट एकातिर नेपालमा वस्तु तथा सेवा आयात, वैदेशिक क्रृण तथा अनुदानको बाटो हुँदै मूल्यवृद्धि भित्रदो छ भने अर्कोतिर पेट्रोलियम पर्दाथको मूल्यमा देखिएको अधिक वृद्धिले आयात एवं स्थानीय उत्पादन दुबैलाई पुनः मूल्यवृद्धितर्फ नै उत्पे्रेरित गरेको छ । जसलाई तलको ग्राफमा विगत ५ वर्षका बार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिको ऐतिहासिक उचाइले प्रष्टाएका छन् ।
वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीतिको अवस्था
पछिल्ला अवस्थाहरु हेर्दा उपभोक्ताहरुले खाद्य तथा गैरखाद्य वस्तुहरुको मूल्यमा उच्चवृद्धि महसुस गरिरहेको देखिन्छ । हिमालीमा तुलनात्मकरुपमा अधिक मूल्यवृद्धिको चाप महसुस गरिएको देखिन्छ । क्षेत्रगत हिसाबले समग, खाद्य तथा पेय तथा गैरखाद्य तथा सेवा सम्बन्धी गतिविधिहरु स्थानीयहरुले भोग्नु परेका मूल्यवृद्धिका अवस्थाहरु तलको ग्राफबाट स्पष्ट हुन्छ ।
क्षेत्रगत आधारमा मूल्यवृद्धिको अवस्था
हिमालका उपभोक्ताहरुमा खाद्य तथा पेय पर्दाथको मूल्यवृद्धि अधिक हुँदा, पहाडमा गैरखाद्य तथा सेवा महंगो बनेको छ । त्यसैगरी काठमाडौं एवं तराईमा गैरखाद्य तथा सेवासम्बन्धी गतिविधिहरु अधिक महंगीको चपेटामा परेका छन् । २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, दुग्धपदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत पुगेको तलको ग्राफ स्पष्ट देख्न सकिन्छ ।
खाद्य तथा पेय पर्दाथको मूल्यवृद्धिको अवस्था
घ्यू, तेल, फलफूल, गेडागुडी तथा दाल जन्य उपभोगहरु यतिबेला अत्यधिक महंगा हुँदै गएका छन् । त्यसैगरी गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति पनि अत्याधिक रहेको तलको ग्राफबाट स्पष्ट हुन्छ ।
गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धिको अवस्था
समग्रमा हेर्दा उपभोक्ताहरु हरेक वस्तु तथा सेवा उपयोगमा उच्च मूल्य वृद्धिको सामना गरिरहेका छन् भने पेट्रोलियम पर्दाथमा भएको पछिल्लो मूल्यवृद्धिले आर्थिक क्रियाकलापहरु झनै आक्रान्त बनेका छन् ।
रुस तथा युक्रेनबाट आयात हुने सोयाविन, सनफ्लावर तथा तोरीको तेलको कच्चा पदार्थ थप मूल्यवृद्धिको चपेटामा छ । इन्धनको मूल्यवृद्धिका कारण वायुसेवा कम्पनीहरुले पनि हवाई भाडा बढाएका छन् । सरकारले पेट्रालियम पर्दाथको मूल्यमा समायोजन गरी केही राहत सिर्जना गर्न खोजेको भएपनि सर्बत्र मूल्यवृद्धिको कहर भने यथावत नै छ ।
अमेरिकी डलरको विनिमयमा आएको वृद्धिले निर्यात प्रोत्साहित भई पर्यटन, हस्तकलालगायत नेपाली सामानको निकासीकर्ताको आयमा वृद्धि हुने, विप्रेषण आयमा वृद्धिआदि केही सकारात्मक बाह्यताहरु देखिने भएपनि विदेशबाट कच्च पदार्थ ल्याएर उत्पादन गर्ने, वस्तु तथा सेवाहरु आयात गरेर थोक तथा खुद्रा व्यावसाय गर्ने आदि जस्ता गतिविधिहरु महंगाईका चपेटा पर्नेछन् भने सरकारलाई विदेशी क्रणको साँवा तथा ब्याज भुक्तानीमा थप भार सिर्जना हुनेछ भने अध्ययन, भ्रमण तथा औषधि उपचरार्थ विदेश जाने नेपालीहरुले थप महंगाीको सामना गर्नु पर्नेछ ।
विद्यमान आयात निर्यात अनुपातलाई नियाल्दा नेपालमा अमेरिकी डलरको विनिमयको अधिमूल्ययनले प्रतिकुलतामै दबाब पर्ने देखिन्छ । आउँदो आर्थिक वर्षको वितरणमुखी बजेटको कार्यन्वयन, आगामी आमनिर्वाचन, रोजगारीबाट प्राप्त आयमा लाग्ने करका दर एवं दायारामा गरिएका परिर्वतन जस्ता चरहरुले उपभोक्ताको समग्र माग पक्षलाई सबल गराउँदै नेपाली अर्थतन्त्रमा मूल्यवृद्धिमा टेवा पुर्याउने देखिन्छ भने पेट्रोलियम पर्दाथको मूल्यवृद्धि, अमेरिकी डलरको बढ्दो विनिमयदर, रसिया–युक्रेन द्वन्द्वले उत्पादनकर्ता एवं सेवा प्रदायकहरुको लागत वृद्धि गर्दै पुनः मूल्यवृद्धिमा नै टेवा पुग्ने देखिन्छ ।
प्रतिकुलता व्यवस्थापनको उपायहरु
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको आँकडाहरु नियाल्दा मुलुक यतिबेला विगत ६ वर्ष यताकै अधिक मूल्यवृद्धिको चपेटा परेको देखिन्छ । केही निश्चित पूर्वशर्तहरुमा आधारित रहेर महंगीका सूचकहरु गणना गरिने भएकाले बजारको वास्तविक मूल्यवृद्धि प्रकाशित तथ्यहरुमा देखिएको भन्दा अधिक रहन सक्ने सम्भावनालाई मध्यनजर गर्दा महंगाईको दुष्चक्र आँकडामा देखिएको भन्दा अझै जटिल रहेको सजिलै आँकलन गर्न सकिन्छ ।
महंगीको प्रभाव सर्वसाधारणको दैनिक चुलोचौकोसम्म पुग्दासमेत विद्यमान अन्तर्राष्ट्रियस्तरमा देखिएको स्वतः उपजकारुपमा परिस्थितीलाई आँकलन गर्दै सरकार मौन छ । यही अवसरको प्रयोग गर्दै बजारमा बिचौलियाहरुका नाफामुखी गतिविधिहरु मौलाई परिस्थिती झन् बिकराल बन्दै गर्दा मूल्य अनुगमनको दायित्व बोकेका केन्द्रीय, प्रादेशिक तथा स्थानीय निकायबाट अध्ययन, अनुगमन नगरी चुपचाप बस्दा ढोकैमा पुगेको सिंहदरबारको अनुभूति सर्वसाधारणले गर्न पाएका छैनन् ।
परिस्थितिको विषमताबाट बच्न अबका दिनहरुमा नेपाली उपभोक्ताहरुले पेट्रोलियम पर्दाथको उपभोग कटौती गर्दै विद्युतीय सामग्री एवं उपकरणहरुको प्रयोगमा ध्यान दिनुपर्ने देखिन्छ । आयात प्रतिस्थान गर्न सकिने सम्पूर्ण सम्भावनाहरुको देशभर भरपुर सदुपयोग गर्दै विलासितामुखी उपभोगहरु कटौतीमै बुद्धिमत्ता हुनेछ । विदेशबाट नेपाल रकम पठाउँदा हुण्डीलगायत अन्य अनौपचारिक संयन्त्रको सट्टा औपचारिक माध्ययमको चयन गर्न सक्ने हो भने देशलाई नै ठूलो राहत मिल्नेछ ।
वर्तमान मूल्यवृद्धिलाई सम्बोधन गर्ने उपायकारुपमा विश्वका अन्य राष्ट्रहरुमा जस्तै नेपालमा पनि अबको मौद्रिक नीतिले केही कठोरता अबलम्बन गर्न नसक्ने हो भने आगामी आर्थिक वर्षको लागि तय गरिएको ७ प्रतिशतमा समेटिने मुद्रास्फीतिको लक्ष्य हासिल गर्न कठिन हुने देखिन्छ ।
(उल्लेखित विचारहरु लेखकका निजी भएकाले आवद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन् ।)