थामिएन लगानीकर्ताको खुसी, बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । लामो समय बजारमा आएको गिरावटपछि एकाएक बढेको बजारले लगानीकर्तामा उत्साह देखिएको थियो । त्यो उत्साह धेरै टिक्न सकेको छैन । शुक्रबार र आइतबार बढेको बजारमा सोमबार भने गिरावट देखिएको छ ।

यो दिन बजार मापन गर्ने सूचक २३.८५ अंकले घटेर परिसूचक १९३३.१३ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.०२ अंकले घटेर ३७५.८२ बिन्दुमा रहेको छ । २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता सेयर २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक १२.३८, विकास बैंक ११७.५५, वित्त ३०.८६, जलविद्युत ६०.३३, उत्पादन तथा प्रशोधन ४१.३२, माइक्रोफाइनान्स ६७.२२, निर्जीबन बीमा समूहको उपसूचक ९७.८३ अंकले घटेको छ । जीवन बीमा समूहको उपसूचक ११३.९६ अंकले बढेको छ ।

कारोबारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, ङादी हाईड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै उन्नत सहकार्य लघुवित्त वित्तीय संस्थाको कारोबारमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । कम्पनीको १५ करोड ६५ लाख ८८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु