धितोपत्र बोर्डले चलखेलको शंका गरेका ५१ कम्पनीको सेयर मूल्य ४७% ले घट्यो



काठमाडौं । नेपाल धितोपत्र बोर्डले कर्नरिङ गरी मूल्य बढाइएको आशंकामा ५१ वटा सूचीकृत कम्पनीको नाम सार्वजनिक गर्यो ।

सेयर बजारको ग्राफ उकालो लाग्दै गर्दा बोर्डले ती कम्पनीको सूची प्रकाशित गरेपछि निकै आलोचना भयो । बढ्दो बजारमा हौसिएका लगानीकर्ताहरु बोर्डको उक्त निर्णयपछि सार्वजनिक रुपमा बहस तीव्र भयो ।

बोर्डको तर्क थियो, ‘यी कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढेको छ, जसमा भित्री कारोबार गरेको, सर्कुलर कारोबार गरेको, कर्नरिङ गरेरको आशंका छ ।’

बोर्डले ५१ वटा कम्पनीको सूचीमा लामो समयदेखि कारोबार रोक्का भएको कम्पनीको नाम समेत समावेश गरेपछि अझ आलोचना भयो । तर नाम सार्वजनिक गरे पनि बोर्डले ती कम्पनीविरुद्ध कुनै कदम चालेन ।

कम्पनीको नाम सार्वजनिक गरेको विषयलाई तत्कालीन बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले आफ्नो बर्खास्तीसँग जोडेर प्रचार गरे । उनले आफूले कम्पनीको नाम सार्वजनिक गरेपछि आफूविरुद्ध केही व्यक्तिहरु लागेको आरोप समेत लगाउन भ्याए ।

तर बोर्ड कर्नरिङ गरेर मूल्य बढाएको भने पनि तत्कालीन रुपमा कुनै असर देखिएन । तर त्यसपछि क्रमैसँगै आएका विभिन्न नीतिका कारण समय क्रमसँगै सेयर बजार ओरालो लाग्यो । सँगसँगै यी कम्पनीको मूल्यको ग्राफ पनि ओरालो लाग्यो ।

एक वर्षको अवधिमा ती कम्पनीहरुको सेयर मूल्य ७२.९७ प्रतिशतसम्म घटेको छ ।

सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा गोर्खाज फाइनान्स छ । गत असार १ गते प्रतिकित्ता १४३२ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य बिहीबारसम्म आइपुग्दा ७२.९७ प्रतिशतले घटेर ३८७ रुपैयाँमा सीमित छ ।

त्यस्तै साल्ट टे«डिङ कर्पोरेशनको सेयर मूल्य ७२.३३ प्रतिशतले घटेको छ । गत असार १ गते प्रतिकित्ता १० हजार ५८० रुपैयाँ रहेकोमा बिहीबारसम्म आइपुग्दा घटेर २९२७ रुपैयाँ रहेको छ ।

धेरै मूल्य घट्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी पनि छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य ६८.३४ प्रतिशतले घटेको छ । गत असार १ गते १९३० रुपैयाँ रहेकोमा बिहीबारसम्म आइपुग्दा प्रतिकित्ता सेयर मूल्य ६११ रुपैयाँमा झरेको छ ।

यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य ६७.६९ प्रतिशतले घटेको छ । गत असार १ गते २१११ रुपैयाँ रहेकोमा बिहीबारसम्म आइपुग्दा ६८२ रुपैयाँ प्रतिकित्ता छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार एक वर्षको अवधिमा २३ वटा कम्पनीको सेयर मूल्य ५० प्रतिशत भन्दा बढीले घटेको छ ।

१८ वटा कम्पनीको सेयर मूल्य ४० देखि ५० प्रतिशतको हाराहारीमा घटेको छ । ८ वटा कम्पनीको मूल्य ३० देखि ४० प्रतिशतले घटेको छ ।

सबैभन्दा कम मूल्य घट्ने कम्पनीमा माउन्टेन इनर्जी कम्पनी छ । कम्पनीको सेयर मूल्य २१ प्रतिशतले घटेको छ । गत असार १ गते ९७४ रुपैयाँ रहेकोमा बिहीबारसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७६६ रुपैयाँ रहेको छ ।

बोर्डले निष्कासन गरेको ५१ वटा कम्पनीमध्ये घोडीघोडा लघुवित्त वित्तीय संस्थाको कारोबार मर्जरमा जाने भएर तत्कालिन समयमा नै बन्द रहेको थियो । उक्त समयमा कारोबार रोक्का भएको कम्पनीमा समेत बोर्डले मूल्यमा चलखेल देखेको थियो ।

अहिले भने रिडी हाइड्रोपावर र रैराङ हाईड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ । रिडी हाईड्रोपावरले रैराङ हाईड्रोपावर एक्वायर गर्ने भएपछि कारोबार रोक्का भएको हो ।

यस्तै गुरास लाइफ कम्पनीको पनि सेयर करोबार रोक्का भएको छ । जेठ ३ गतेदेखि कारोबार रोक्का छ । प्राइम लाइफ, युनियन लाइफ र गुरास लाइफ इन्स्योरेन्स आपसमा गाभिने भएपछि कारोबार रोक्का छ ।

यो एक वर्षको अवधिमा नेपालको सेयर बजार ११७४ अंकले घटेको छ । गत असार १ गते ३०२२ बिन्दुमा रहेको बजार बिहीबारसम्म आइपुग्दा ११७४ अंकले घटेर १८४८.२८ बिन्दुमा रोकिएको छ । बजारमा आएको गिरावटले पनि कम्पनीको मूल्य घटेको देखिएको छ ।

५१ वटाको सूचीमा नपर्नेको समेत मूल्य ४० प्रतिशतभन्दा बढीले घट्यो

एक वर्षको अवधिमा धितोपत्र बोर्डले खराब भनेका कम्पनीको मात्रै नभएर अन्य कम्पनीको पनि सेयर मूल्य घटेको छ । निकै राम्रो मानिएका बैंक, बीमा कम्पनी जलविद्युत कम्पनीको मूल्यमा पनि ह्रास आएको छ । उदाहरण नबिल बैंकलाई नै हेरौ ।

नबिल बैंकको सेयर मूल्य एक वर्षको अवधिमा ४२.९१ प्रतिशतले घटेको छ । बैंकको सेयर मूल्य गत असार १ गते प्रतिकित्ता १३१२ रुपैयाँ रहेको थियो । अहिले घटेर बिहीबारसम्म आइपुग्दा ७४९ रुपैयाँ रहेको छ ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य पनि ३७.४१ प्रतिशतले घटेको छ । गत असार १ गते ६१२ रुपैयाँ रहेकोमा बिहीबारसम्म आइपुग्दा ३८३ रुपैयाँ रहेको छ ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि ६०.०१ प्रतिशतले घटेको छ । गत असार १ गते १२८३ रुपैयाँ प्रतिकित्ता रहेकोमा बिहीबारसम्म ५१३ रुपैयाँ रहेको छ । यस्तै शिखर इन्स्योरेन्सको मूल्य पनि ६७.६२ प्रतिशतले घटेको छ । गत असार १ गते २१९९ रुपैयाँ रहेकोमा बिहीबारसम्म आइपुग्दा घटेर ७१२ रुपैयाँ रहेको छ ।

यस्तै चिलिमे हाईड्रोपावर कम्पनीको सेयर मूल्य पनि ५०.४८ प्रतिशतले घटेको छ । कम्पनीको मूल्य गत असार १ गते प्रतिकित्ता ७२५ रुपैयाँ रहेकोमा बिहीबारसम्म ३५९ रुपैयाँ रहेको छ ।

यो अवधिमा धितोपत्र बोर्डले भनेको जस्तो भित्री कारोबार गरिएका, सर्कुलर कारोबार गरेका कर्नरिङ गरेका मात्रै नभएर धितोपत्र बोर्डको नजरमा धेरै राम्रो भनिएका कम्पनीको मूल्यमा पनि गिरावट आएको छ ।

सबै कम्पनीको आएको गिरावटले उक्त समयमा बोर्डले कुन नियतका साथ ५१ वटा कम्पनी नाम सार्वजनिक गर्यो, अहिलेसम्म सबैको चासोको विषय बनेको छ ।

बोर्डले खराब नै भनेका ५१ वटा कम्पनीले के खराबी गरे र कस्तो कारबाही भयो भनेर बोर्डले पनि जानकारी गराएको छैन ।

यसले पनि बोर्ड नेतृत्वको नियतमा भने सधै प्रश्न चिन्ह खडा गरिरहेको जानकार लगानीकर्ताको तर्क छ ।


क्लिकमान्डु