‘कुकुर तिहार’ लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन एनआरएनएलाई मेयर बालेन्द्र शाहको आग्रह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ‘कुकुर तिहार’ लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन् ।

मेयर शाहले हरेक देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न संघलाई आग्रह गरेका छन् । संघका पदाधिकारीसँगको भेटमा मेयर शाहले काठमाडौंको कला संस्कृति, सम्पदालाई विश्व सञ्जालमा चिनाउन आग्रह गरे ।

भेटका क्रममा गैरआवासीय नेपाली संघले काठमाडौँ महानगरपालिकासंग सहकार्य गरी महानगरपालिकाको स्तरउन्नती, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने भएको छ ।

भेटमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले ललितपुर महानगरपालिकाको समन्वयमा ललितपुरको शंखमुल पार्क बनाएको स्मरण गराए ।

त्यस्तै गत वर्ष नै टेण्डर आब्हान गरी बनाउन लागेको सार्वजानिक शौचालय कलंकी सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको र काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा एनआरएनएले दुईवटा सार्वजनिक शौचालय बनाउने जानकारी गराइएको छ ।

उक्त शौचालय व्यवस्थापनको निमित्त काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको छ । त्यस्तै फोहोर व्यवस्थापनका निमित्त विभिन्न देशहरूको उच्चस्तरीय प्रविधिको विषय पनि छलफल भएको छ ।

संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं सिटीलाई ‘स्मार्ट सिटी’ बनाउन सहकार्य र समन्वय गर्न संघ हरदम तयार रहेको बताए ।

शाहले संघले बनाउन लागेको सार्वजनिक शौचालयका लागि जग्गा उपलब्ध गराउन, व्यवस्थापन गर्न महानगरपालिका सकारात्मक रहेको उनको भनाइ छ ।


क्लिकमान्डु