वैदेशिक रोजगारमा जानेलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा योजनामा समेट्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा छलफल भएको छ ।

छलफलमा विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य शुरु भइसकेको जानकारी दिदै कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले एनआरएनएसँगको सहकार्यमा कोषले छिट्टै कार्यबिधी बनाएर लागू गर्ने बताए । उनले वैदेशिक रोजगारमा जानेलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिने वेलामा नै समेट्न सकिने बताए ।

कोषका निर्देशक कृष्ण अधिकारीले विदेशमा रहेका नेपालीलाई कोषमा समेट्नका लागि कोषले ’प्यासन’ को रूपमा लिएर अगाडि बढेकाले एनआरएनएले साथ दिएमा चाँडै लागू हुने बताए । कर्मचारी संचय कोषका पूर्व प्रशासक कृष्ण आचार्यले कानूनी अड्चनलाई हटाएर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न आग्रह गरे ।

वैदेशिक रोजगार तथा कल्याणकारी विभागका सभापति एवं संघका उपाध्यक्ष डिबि क्षेत्रीले बैदेशिक रोजगारमा जाने नेपालीहरुलाईृ अनिवार्यरुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिदा र श्रम सम्झौता गर्दा अनिवार्य सामाजिक सुरक्षा कोषमा जोड्ने शर्त राख्नु पर्ने बताए ।

उपाध्यक्ष क्षेत्रीले वैदेशिक रोजगारमा रहेका नेपालीको भावानात्मकसम्बन्ध जोडिएको सामाजिक सुरक्षा योजनाको अभियान शुरुवातदेखि अहिलेसम्मको अवस्थामा आउनु सकारात्मक रहेको धारणा राखे । सरकारले आर्थिक बर्षको बजेटमा नै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने गरी कार्यक्रम ल्याउनु सकारात्मक भएको सहभागीले औल्याए ।

संघका अध्यक्ष बद्री केसीले सामाजिक सुरक्षा सम्बन्धि संघको धारणा प्रस्तुत गर्दै यसको सफल कार्यान्वयनका लागि कार्यबिधि तयार पारेर गैरआवासीय नेपाली संघ र सामजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर गरेर अगाडि बढ्नु पर्ने बताए ।

एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्यले चाँडै संघ र कोषबीच सामाजिक सुरक्षामा समेट्नका लागि दुई पक्षिय समझदारी गरिने जानकारी दिए । समझादारी पत्र तयारका लागि संघका तर्फबाट उपाध्यक्ष डिबी क्षेत्री र कोषका तर्फबाट निर्देशक कृष्ण अधिकारीलाई जिममेवारी तोकिएको छ ।


क्लिकमान्डु