सेवा बन्द गर्ने निर्णयमा आत्मालोचना गर्छौ, अब उडान अवरुद्ध नगर्ने प्रण गर्दछौंः बुध्द एयर



काठमाडौं । बुध्द एयरले आगामी दिनमा आफ्नो कारणले हवाई उडान सेवा अवरुद्ध नगर्ने प्रण गरेको छ ।

मंगलबार दिनभर विमान कम्पनीहरुले हवाई उडान बन्द गर्ने गरी गरेको घोषणाले यात्रुहरुले दुःख पाएको भन्दै बुध्दले आत्मालोचना समेत गरेको छ ।

‘वायसेवा कम्पनी यात्रुहरुको पारवाहन सुविधा र कर्मचारीको जीविकोपार्जनको थलो हो । हा्रो आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु यथोचित निर्णय होइन । यसको आत्मालोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दछौं,’ बुध्द एयरले भनेको छ ।

बुध्द एयरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हाल काठमाडौं विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्री विश्राममा क्षमताभन्दा बढी जहाज छन्, यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुन्छ । धेरै अगाडिको अध्ययन र मूल्यांकनमा पार्किङ क्षेत्रमा १७ वटा जहाजको क्षमता देखाइएको छ ।’

सोही आधारमा नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवालाई त्यसभन्दा बढी जहाज काठमाडौं बाहिर रात्री विश्राम गर्न निर्देशन दिएको र आजका दिनमा पार्किङ थलो सुधार समेत भएको बुध्द एयरको भनाइ छ ।

‘प्राधिकरणबाट काठमाडौंमा रात्री बिश्राम हुने जहाजहरुको संख्या बढाउने आश्वासन प्राप्त भएको छ । यसले नेपाली यात्रुलाई उल्लेख्य सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुनेछ,’ बुध्द एयरले भनेको छ ।


क्लिकमान्डु