विहानैदेखि शुरु भयो आन्तरिक उडान, आफ्नै अडानमा १० घण्टा टिकेन संघ



काठमाडौं । आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन् ।

आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने सहमति भएको हो ।

आन्तरिक उडानका एयरलाइन्सले आज बिहानैदेखि उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बिहानैदेखि नियमित उडान भइरहेको जानकारी दिए ।

बुद्ध एयरले बिहान ११ बजेदेखि आन्तरिक उडान नियमित सञ्चालन गर्ने कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।

सरकार र वायुसेवा सञ्चालक सङ्घबीच गए राति भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भएको प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए। अन्य मागका सम्बन्धमा आज पुनः वार्ता गरेर टुङ्गोमा पुग्ने जनाइएको छ ।

प्रधानमन्त्री कार्यालयको पहलमा गृह मन्त्रालय, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितका उच्च पदाधिकारी र सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापालगायतको वायुसेवा सञ्चालकहरूको टोलीबीच गए राति वार्ता भएको थियो । आज मध्याह्न पुनः वार्तामा बसी अन्य मागका विषयमा टुङगो लगाइने बताइएको छ ।

प्राधिकरणले यही असार ५ गते गरेको निर्णय फिर्ता लिनुपर्ने माग गर्दै सङ्घले पत्रकार सम्मेलन गरेर उडान बन्द गर्ने चेतावनी दिएको थियो ।

लगत्तै प्राधिकरणले पत्रकार सम्मेलन गरेर अत्यावश्यक हवाई सेवा बन्द नगर्न चेतावनी दिँदै उडान बन्द गरेर जनतालाई समस्यामा पारे प्राधिकरण चुप लागेर नबस्ने स्पष्ट पारेको थियो ।


क्लिकमान्डु