गभर्नरमाथि खनिए धितोपत्र बोर्डका अध्यक्ष, भने- राष्ट्र बैंकको ४/१२ को नीतिले सेयर बजार घट्यो



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिले सेयर बजार घटेको बताएका छन् ।

मंगलबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा हमालले आन्दोलनरत लगानीकर्ताको माग सम्बोधन गर्नका लागि समिति गठन गर्नुभन्दा पनि माग पूरा गर्नतर्फ लाग्नुपर्ने बताए । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा सेयर धितोको कर्जामा ४/१२ को नीति ल्याएको थियो । जसअनुसार कुनै पनि व्यक्ति वा संस्थाले एउटा संस्थाबाट अधिकतम ४ करोड र समग्र प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितो राखेर कर्जा लिन पाउने व्यवस्था गरिएको थियो ।

‘लगानीकर्ताले उठाएका धेरै मागहरु कार्यान्वयनको चरणमा छन्,’ उनले भने, ‘गैरआवासीय नेपाललाई पुँजी बजारमा प्रवेश गराउनका लागि भदौभित्र कार्यविधि बनिसक्छ ।’

उनले विश्वका अन्य देशमा सेयर लगानीकर्ता आन्दोलन गर्दै सडकमा नआउने भन्दै नेपालमा यस्तो अवस्था आउनु दुःखद् भएको बताए ।

उनले पुँजीगत लाभकर समेत घटाउने विषयमा अर्थमन्त्रीसँग छलफल भइरहेको बताए । यसका लागि राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थमन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझाव अनुसार काम अगाडि बढाइनेसमेत बताए ।

अध्यक्ष हमालले हाल मुलुकभरका २४ स्थानमा धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरुको शाखा बिस्तारको काम भइरहेको बताए ।

उनले आगामी आर्थिक वर्षदेखि कुनै पनि कम्पनी मर्जरमा जाने निर्णय गरेपछि कारोबार रोकिने अवस्था हटाइने बताए । यसका लागि मर्जर नियमावली संशोधन हुनुपर्ने उनको भनाइ छ । र, त्यसका लागि केन्द्रीय बैंकसँग छलफल भइरहेको उनको भनाइ छ ।

हमालले ब्रोकर कमिसनका सम्बन्धनमा पनि अध्ययन समितिको प्रतिवेदन अनुसार काम हुने बताए ।


क्लिकमान्डु