विमान कम्पनी बेस लिएकै स्थानमा जानुपर्छ, बन्द गर्ने हो भने क्यान चुप लागेर बस्दैनः महानिर्देशक अधिकारी




काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमान कम्पनीहरुले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने स्पष्ट पारेका छन् ।

वायुसेवा सञ्चालक संघले माग पूरा नभएसम्म भोलि बुधबारदेखि अनिश्चितकालका लागि आपत्कालीन र नियमित सबै हवाई उडान बन्द गर्ने चेतावनी दिएको २ घण्टापछि महानिर्देशक अधिकारीको यस्तो चेतावनी दिएका हुन् ।

क्यान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हवाई अत्यावश्यक सेवा हो, उहाँहरुले बन्द गर्नुहुन्छ जस्तो लाग्दैन तर यदि अडान कायम राख्नुहुन्छ भने प्राधिकरण चुप लागेर बस्दैन ।’

यसअघि असार ५ गते निर्णय गर्दै होलिकप्टरको हकमा असार ८ गतेदेखि र विमानहरुको हकमा असार १३ गतेदेखि अनुमति लिएका बेसमै जान निर्देशन दिएको थियो । जसअनुसार विमान कम्पनीहरुले काठमाडौं बाहेक अनुमति लिएका विमानस्थलमा रात्री बिश्राम गर्नुपर्ने हुन्छ ।

क्यानका अनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ वटा इन्टरनेसनल उडान गर्ने विमान र आन्तरिकतर्फ १७ वटा विमान राख्ने पार्किङ क्षमता छ । र, ३३ वटा विमानको रात्रि बिश्राम गर्नुपर्ने हुन्छ । तर, हाल आन्तरिकतर्फ ५१ वटा विमान पार्किङ भइरहेको क्यानको भनाइ छ ।

साथै, हेलिकोप्टरको हकमा हाल पार्किङ भइरहेको स्थानमा एक महिनामा एडीबीको ऋण सहयोगमा ह्याङगर निर्माण शुरु हुने भएकाले साइट क्लियर जरुरी रहेको क्यानको भनाइ छ ।

महानिर्देशक अधिकारीले जुन विमान र होलिकोप्टर कम्पनीले एओसी लिने समयमा जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा राख्नुपर्नेमा क्यान स्पष्ट रहेको बताए ।

क्यानका अनुसार काठमाडौं बाहिरका १० वटा विमानस्थलमा रात्रिकालिन बिश्राम गर्न सकिन्छ । त्यसका लागि सुरक्षा तथा अन्य सेवा सुविधा उपलब्ध गराइएको क्यानको दाबी छ ।

साथै, अधिकारीले विमानस्थल रत्नपार्क नभएको भन्दै सबै विमान राख्न नसकिने स्पष्ट पारे । उनले यसअघि नै विमान कम्पनीसँग छलफल गरी प्रतिवेदन तयार पारिएको बताए ।


क्लिकमान्डु