पेट्रोलियम पदार्थको खपत २०%ले कम गर्छौ, शुरुवात सिंहदरबारबाट हुन्छः उद्योगमन्त्री बडू



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले सरकारी निकायले कम्तीमा पनि २० प्रतिशत पेट्रोलियम पदार्थ कम खपत गर्ने व्यवस्था मिलाउनका लागि नीतिगत निर्णय भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उद्योगमन्त्री बडूले आगामी आर्थिक वर्षको बजेटमार्फत् पहिलो चरणमा सिंहदरबारस्थित सरकारी कायार्लयबा एलपी ग्यासको वैकल्पिक उपाय अवलम्वन गर्ने नीतिगत व्यवस्था गरिएको बताए ।

त्यस्तै, निगम सञ्चालक समितिको निर्णयअनुसार एलपी ग्यासको घरायसी एवं व्यावसायिक प्रयोगका लागि अलग–अलग मूल्य कायम गर्न समितिका सदस्यको संयोजकत्वमा सरोकारवालाको प्रतिनिधित्व समेत रहने गरी उप समिति गठन गरिएको छ र छिट्टै यो व्यवस्था व्यवहारमा ल्याइने उल्लेख गरे ।

‘मन्त्रिपरिषद बैठकले नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको आपूर्ति प्रणाली व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नेपाल सरकारले अपनाउनु पर्ने अलपकालीन र दीर्घकालीन नीतिगत, कानूनी एवं संस्थागत सुधारलगायतका विषयवस्तुहरु समावेश गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ,’ मन्त्री बडूले भने ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र सो बमोजिम सर्वसाधारणको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगर्दा निगमलाई जेठ मसान्तसम्म करिब ५० अर्ब घाटा हुन गएको मन्त्री बडूले बताए ।

इन्डियन आयल कर्पोरेशनलाई २२ अर्व बक्यौता रहेको बताउँदै पेट्रोलियम पदार्थ खरिदवापत तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति व्यवस्था सहज बनाई राख्न लागत अनुरुप नै मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको उनको भनाइ छ ।


क्लिकमान्डु