भोलिदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको घाेषणा



काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले भोलि बुधबारदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने घाेषणा गरेको छ ।

संघले परकार सम्मेलन गरेर सबै आन्तरिक हवाई उडान बन्द गर्ने जानकारी दिएकाे हो ।

पत्रकार सम्मेलनमा त्रिभुवन विमानस्थल बाहेकका अन्य विमानस्थलमा रात्री बिश्राम गरी उडान गर्न नसकिने संघले जनाएको छ ।

संघले सरकारले दमनकारी प्रवृति देखाएको भन्दै आफ्ना ५ बुँदे माग पूरा नभएसम्म विमान र हेलिकोप्टरले दिने आपतकलिन तथा नियमित सेवा बन्द गर्ने जानकारी दिएको हो ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सरकार तथा क्यानले एकतर्फीरुपमा दमनकारी प्रवृति देखाएको भन्दै बाध्यकारी भएर यस्तो कदम चाल्नु परेको बताए ।

‘हवाई सेवा बन्द गर्ने हाम्रो कुनै मनसाय थिएन तर सरकार र क्यानको एकतर्फी दमनकारी प्रवृतिका कारण अनिश्चितकालका लागि बन्द गर्न बाध्य छौं,’ थापाले भने ।

नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं बाहेकका विमानस्थलबाट बिश्राम गरी उडान गर्न गरेको निर्देशन तत्काल पालना गर्न नसकिने संघको भनाइ छ ।

हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आईपर्ने समस्याहरुप्रति वेवास्ता गरिएको र एकपक्षीय रुपमा स्वेच्छाचारी निर्णयले वायुसेवा कम्पनीहरुबाट प्रदान गरिने सेवाहरुमा समस्या उत्पन्न हुन गएको तथा निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने अवस्था सृजना भएको संघको तर्क छ ।

‘क्षेत्रीय विमानस्थलहरुको बढोत्तरी तथा स्तरोन्नती भए पनि हवाईजहाज तथा हेलिकप्टरको मर्मत संभार तथा चेक जाँच गर्ने प्राविधिक पक्षहरुलगायत अन्य विविध भौतिक पूर्वाधारहरुको विकास भई नसकेकोले हालको अवस्थामा विमानस्थल बाहेकका विमानस्थलहरुमा रात्री विश्राम गरी उडान भर्न असमर्थ रहेको व्यहोरा जानकारी गराउँदछौ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हवाई क्षेत्रमा रहेका निम्नानुसारका दीघंकालीन समस्याहरु यथाशिघ्र समाधान गर्न संघ माग गरेको छ ।

संघले विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ्ग पार्किङ्ग, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क बृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने, विमानस्थलमा हेलिकप्टर सञ्चालका लागि लागि दीर्घकालीन हेलिप्याड, मर्मत संभारका लागि याडर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनु पर्ने माग गरेको छ ।

साथै, असार ३ गतेको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रेस विज्ञप्तिमा उल्लेखित आधार अपरेटिङ बेसको प्रावधानहरु हवाई जहाज तथा हेलिकप्टर दुवै विमानसेवा कम्पनीहरुको हकमा खारेज गरी हालसम्म भई रहेकै व्यवस्था अनुसार त्रिभुवन विमानस्थल लगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमानसेवा कम्पनीहरुले विना अवरोध सेवा यथावत संचालन गर्न पाउनु पर्ने संघको माग छ ।

यस्तै नियामक निकाय र सेवा प्रदायक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरण एकै निकायबाट भई रहेको कारण यूरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचिमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहस नहस भई रहेकोले नेपाललाई यूरोपियन यूनियनको हवाई सूरक्षाको सूचिवाट हटाउनका लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशिघ्र पहल गरिनु पर्ने माग पनि रहेको छ ।

संघले त्रिभुवन विमानस्थल परिसरमा नियमानुसार त्रिभुवन विमानस्थलबाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाईसेवाका लागि प्रयोग गरी रहेका स्थान तथा संरचनाहरुलाई यथावत राखि प्रयोगका लागि निरन्तरता प्रदान गरिनु पर्ने माग रहेको छ ।


क्लिकमान्डु