माण्डु, माइखोला हाइड्रोपावर र ट्रेड टावरले आइपीओ ल्याउने



काठमाडौं । प्रभु क्यापिटल लिमिटेड माण्डु हाइड्रोपावर लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडको सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

माण्डु हाइड्रोपावरले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ ।

आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ । कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्दा प्रिमियम मुल्यमा सेयर जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले एक कार्यक्रम आयोजना गरी आफ्नो कम्पनीको सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्ध गर्नका लागि प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो ।

सम्झौतामा माण्डु हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

यस्तै माइखोला हाइड्रोपावर लिमिटेडको सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्रीप्रबन्धकका लागि पनि सम्झौता भएको छ । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिकास्थित माई खोलामा सुपरमाई क्यास्केडज लविद्युतआयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ३ मेगावाट रहेको छ ।

आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन शुरु गरिसकेको छ । माइखोला हाइड्रोपावरका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रितेश रजक तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

यस्तै प्रभु क्यापिटल र ट्रेड टावरबीच सम्झौता भएको छ । ट्रेड टावरले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक सेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त भएको छ । कम्पनीले सर्वसाधारणमा ११ लाख ५८ हजार ९ सय ८० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ ।


क्लिकमान्डु