कृषिजन्य वस्तुको आयात निर्यातभन्दा दोब्बर बढी, ९५ अर्बको कच्चा तेल आयात गर्दा ८० अर्बको निर्यात



काठमाडौं । मुलुकको ६० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आबद्ध भए पनि उत्पादकत्व भने निकै कमजोर छ । सरकारले हरेक वर्ष कृषिलाई उच्च प्राथमिकतामा राखेर अनुदानलगायत अन्य नीति तथा कार्यक्रम अगाडि बढाएको छ । तर, कार्यान्वयनको पाटो निकै कमजोर हुँदा उत्पादकत्व बढ्न सकेको छैन ।

नेपालले आगामी आर्थिक वर्षको बजेटमा पनि कृषिलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । जसले गर्दा यस क्षेत्रमा आबद्ध सरोकारवालाहरूले कृषिमा सुधार गर्र्नुपर्ने बताउँदै आएका छन् ।

नेपाल अहिले कृषिजन्य वस्तुमा पूर्णरुपमा परनिर्भरता जस्तै बनेको छ । सरकारले वार्षिक खर्बौ रुपैयाँको कृषिजन्य वस्तु आयात गर्ने गरेको सरकारी तथ्याङ्क छ ।

कृषिजन्य वस्तुको आयात उच्च भएकाले नै सरकारले कृषिमा प्राथमिकतामा राखेर बजेट ल्याएको कृषि मन्त्रालयले जनाएको छ । तर, बजेटमा उच्च प्राथमिकताका आधारमा बजेट विनियोजन भएपनि सरकारले कार्यान्यन पक्ष फितलो भएमा उत्पादकत्व बढाउन नसक्ने कृषि विज्ञहरू बताउँछन् ।

त्यस्तै, नेपालको पछिल्लो आयात तथा निर्यातको तथ्याङ्क हेर्ने हो भने निर्यातभन्दा दोब्बर कृषिजन्य वस्तु आयात गरेको सरकारी तथ्याङ्कले देखाउँदछ । सरकारले सार्वजनिक गरेको २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार निर्यातको तुलनामा आयात दोब्बर बढी हुने गरेको उल्लेख छ ।

उक्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा नेपालले २ खर्ब ८८ अर्ब ६७ करोड ८० लाख रुपैयाँ बराबरको आयात गर्दा नेपालबाट १ खर्ब ५ अर्ब १३ करोड ९० लाख रुपैयाँको कृषिजन्य वस्तुको निर्यात गरको छ ।

नेपालले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा हालसम्मकै उच्च आयात निर्यात गरेको छ । सो अवधिमा नेपालको कृषिजन्य वस्तुको आयात तथा निर्यातमा तेलको ठूला हिस्सा रहेको छ । नेपालले ८ महिनाको अवधिमा ९५ अर्ब १५ करोड रुपैयाँको कच्चा तेल आयात गर्दा ८० अर्ब ३८ करोड रुपैयाँको निर्यात गरेको छ ।

आयात तथा निर्यातमा ठूलो हिस्सा रहेको तेलबाहेक अन्य कृषिजन्य वस्तुको आयात उच्च छ भने निर्यात निकै कमजोर रहेको छ । नेपालले कृषिन्य वस्तुमा तेलपश्चात सबैभन्दा बढी धान चामल आयात गरेको छ । नेपालले ८ महिनाको अवधिमा मात्रै ३६ अर्ब ७६ करोड रुपैयाँको आयात गरेको छ ।

त्यस्तै, नेपालले २६ अर्ब ७३ करोड रुपैयाँको तरकारी तथा दलहन आयात गरेको तथ्याङ्कले उल्लेख छ ।

सरकारले कृषिजन्य वस्तुको आयातसँगै निर्यात पनि उच्च भएको तथ्याङ्कले उल्लेख गर्दछ । तर, केही कृषिजन्य वस्तुहरू आयात गर्ने तर निर्यात भने नहुने देखिन्छ । नेपालले उच्च आयात गर्दै आएको धान चामल, मकै, गहुँ, चिनीलगायत अन्य वस्तु उच्च आयात हुँदा निर्यात भने शून्य रहेको छ ।


क्लिकमान्डु