निर्यात गर्ने कृषिजन्य वस्तुको कच्चा पदार्थ आयातमा १५ प्रतिशत थप बैंक धरौटी दिन सक्ने



काठमाडौं । सरकारले निर्यात गर्ने कृषिजन्य वस्तुको कच्चा पदार्थ आयातमा सहज बनाएको छ । भन्सार विभागले भन्सार नियामवली तेह्रौंपटक संशोधन गरी राजपत्रमा सरकारले निर्यात गर्ने कृषिजन्य वस्तुको कच्चा पदार्थ आयातमा सहज बनाएको हो ।

सरकारले बैंक जमानत दिँदा पैठारी गरिने मालवस्तुमा लाग्ने भन्सार महसुल वा कृषि सुधार शुल्क र सोको १५ प्रतिशतले हुने थप रकम बराबरको बैंक जनामत दिन सक्ने व्यवस्था मिलाएको राजपत्रमा उल्लेख छ ।

सरकारले विगतको दिनमा कृषिजन्य वस्तुबाहेक अन्य निकासी मूलक उद्योगीहरूलाई कच्चा पदार्थ आयात गर्दा लाग्ने महसुल बैंक ग्यारेन्टीमा ल्याउने प्रावधान थियो । जसमा बण्डेड वेयरहाउसको इजाजतपत्रवालाले भन्सार महसुल, बैंक ग्यारेन्टी र थप रकम भन्सार कार्यालयमा धरौटी राख्थे ।

बैंक ग्यारेन्टी राखेपछि कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी निकासी गरेको प्रमाणको आधारमा बैंक ग्यारेन्टी फुकुवा गर्ने प्रावधान थियो । सोही अनुसार कृषि क्षेत्रलाई पनि सो सुविधा प्रदान गरेको विभागका सुचना अधिकारी पुण्य विक्रम खड्का बताए ।

उनकाअनुसार बण्डेड वेयरहाउसको इजाजतपत्रवालाले निकासी गरिने वा स्वदेशमै नै परिवत्र्य विदेशी मुद्रामा बिक्री गरिने कृषि क्षेत्रका मालवस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थमा लाग्ने महसुलबापत बैंक जमानत दिई आयात गर्न सक्नेछन् ।

‘विगतको दिनमा कृषि क्षेत्रका उद्योगीहरूले यो सुविधा पाउँदैनथ्यो,’ उनले भने, ‘अबका दिनमा कुनै पनि कृषिजन्य उद्योगीले कच्चा पदार्थ आयात गरी निकासी गर्ने लक्ष्य बनाएको छ भने १५ प्रतिशत बैंक ग्यारेन्टीको सुविधा पाउनेछन् । जसमा सरकारले निर्यात प्रोत्साहनका लागि सो व्यवस्था गरेको हो ।’

मानौं, कुनै पनि उद्योगीले तिब्बतबाट स्याउ ल्याएर जुस बनाएर विदेशमा निर्यात गर्छ भने उक्त उद्योगीले १५ प्रतिशतले हुने थप रकम बराबरको बैंक जमानत पाउनेछन् ।

त्यस्तै, बैंक जमानतबाट महसुल असुल गर्दा पैठरी भएको मालवस्तुमा पैठरी गरेको दिनमा लाग्ने भन्सरा महसुल वा कृषि सुधार शुल्कमा १५ प्रतिशत थप गरी असुल गरिनेछ ।

विभागले आंशिक रुपमा माल मालवस्तु प्रयोग भएकोमा प्रयोग नभएजति मालवस्तुमा पैठरी गरेको दिनमा लाग्ने भन्सार महसुल वा कृषि सुधार शुल्कमा १५ प्रतिशत थप गरी पैठरीकर्ताले राखेको बैंक जमानतबाट असुल गरिनेछ ।

साथै, धरौटीबाट सदरस्याहा गरी महसुल असुल गर्दा वा कर मुक्त पसलले निर्धारित म्यादभित्र मालवस्तु बिक्री नगरेको कारणले बैंक जमानत वा धरौटीबाट महसुल असुल गर्दा भन्सार महसुल वा कृषि सुधार शुल्क मात्र असुल गरिने राजपत्रमा उल्लेख छ ।

विभागले निकासी गर्दा मालवस्तुको विवरण सहितको बीजक, उत्पत्तिको प्रमाण्पत्र वा जीएसपीको लागि जारी गरिएको प्रमाणपत्र, तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रिया सम्बन्धी बैंकिङ कागजात र प्रचलित कानून बमोजिम सम्बन्धित निकायको सिफारिस, इजाजत वा प्रमाण्पत्र चाहिनेमा तत्सम्बन्धी कागजात आवश्यक पर्नेछ ।


क्लिकमान्डु