४/१२ को नीति फिर्ता गर्न राष्ट्र बैंकलाई पूर्वकर्मचारीको दबाब



काठमाडौं । नेपाल राष्ट्र बैंकलाई सेयर बजारमा लिएको ४/१२ को नीति फिर्ता लिन पूर्वकर्मचारीले दबाब दिएका छन् ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार केन्द्रीय बैंकबाट अवकास भएका कार्यकारी निर्देशक तहका कर्मचारीले ४/१२ को नीति फिर्ता लिन दबाब दिएका छन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर धितो राखेर लिने कर्जा कुनै व्यक्तिले एउटा बैंकबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा लिन नपाउने व्यवस्था गरेको छ ।

४/१२ को नीति खारेज हुनुपर्ने माग संसद्मा समेत उठेको छ । कांग्रेसका महामन्त्री गगन थापा तथा एमालेका सचिव योगेश भट्टराई लगायतका सांसदहरुले प्रतिनिधिसभामा राष्ट्र बैंकले लिएको नीति खारेज गर्नुपर्ने माग राखेका छन् ।

उक्त नीतिको सबैतिरबाट विरोध भएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

‘उक्त नीति नआएपनि सेयर बियरिस ट्रेण्डमा जाने थियो, अहिलेको बियरिस ट्रेण्डलाई ४/१२ को नीति मात्र मानियो, हुँदाहुँदा राष्ट्र बैंकबाट अवकास पाएका वरिष्ठ कर्मचारीले समेत फोन गरेर हटाउन भनेका छन्,’ राष्ट्र बैंक उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले समेत सार्वजनिक रुपमा नै ४/१२ को नीति हट्नुपर्ने बताएका छन् ।

आन्तरिकरुपमा राष्ट्र बैंकको उच्च व्यवस्थापनको बुझाइ भने निर्वाचनको कारण नेता तथा राष्ट्र बैंकका पूर्वगभर्नरले ४/१२ को नीतिको विरोधमा बोलेको भन्ने छ ।

‘उक्त नीतिमा संसद्मा बोल्नपर्ने विषय थिएन, नेताहरु तथा राष्ट्र बैंकको पूर्वगभर्नरसाबले समेत बोल्नुको अर्थ निर्वाचनलाई ध्यान दिएर हो,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

राष्ट्र बैंकले असार मसान्तभित्र आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले ४/१२ को कार्यान्वयन असार मसान्तभित्र गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका अनुसार अहिले ९१ अर्ब रुपैयाँ सेयरधितो राखेर बैंकहरुले कर्जा दिएका छन् । असार मसान्तको तुलनामा सेयरधितो राखेर दिइने कर्जा १४ अर्बले घटेको छ ।

१ करोडभन्दा बढीको सेयरधितो राखेर दिइने कर्जा १८ अर्बले घटेको छ । ५० लाखदेखि १ करोडसम्मको सेयरधितो कर्जा ६८ करोडले घटेको छ । २५ देखि ५० लाखसम्मको सेयरधितो कर्जा २ अर्ब ९५ करोडले बढेको छ । २५ लाखसम्मको १ अर्ब ३० करोडले असार मसान्तको तुलनामा बढेको छ ।


क्लिकमान्डु