ओली प्रधानमन्त्री हुँदा सेनाले एसपीपी सम्झौता गर्न पठाएको थियो पत्र



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाली सेनाले नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसपीपी) सहभागी हुने भन्दै पत्र लेखेको खुलेको छ ।

२७ अक्टुवर २०१५ मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भविष्यमा नेपाललाई नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसपीपी) मा सहभागी गराउन आग्रह गर्दै तत्कालिन अमेरिकी राजदुत एलिना बि टेप्लिजलाई लेखेको पत्र क्लिकमाण्डूले प्राप्त गरेको छ ।

‘एनजीएसपीपीले नेपाल र अमेरिकाबीच दीर्घकालीन सुरक्षा सहकार्य बढाउनुका साथैं दुबै क्षेत्रको सैन्य क्षमता अभिबृद्धि गर्न सहयोग गर्नेछ,’ तत्कालीन प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा भनिएको छ, ‘यो कार्यक्रमले प्रकोप न्यूनीकरण तयारी, संकट व्यवस्थापन, हवाई क्षमता अभिबृद्धि, पूर्वाधार विकास लगायतका क्षेत्रमा सहकार्य गर्ने विश्वास छ ।’

नेपाली सेनाले अमेरिकी दुतावासलाई लेखेको पत्रको बोदार्थ रक्षा मन्त्रालयलाई समेत दिएको थियो ।

तत्कालिन प्रधानसेनापति क्षेत्रीले अमेरिकी राजदुतावासमा पत्राचार गर्दा ओलीले नै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

पछिल्लो केही सातादेखि नेपालले एसपीपी सम्झौता गर्न लागेको भन्दै तीव्र विरोध हुँदै आएको थियो ।

एमालेका नेताहरुले प्रतिनिधिसभामा एसपीपीका विषयमा सरकारको धारणा माग गर्दै आएका थिए । प्रधानमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा जवाफ पेश गर्दै गृहमन्त्री बालकृष्ण खाँडले एसपीपीमा सहभागि हुने विषयमा सरकारले कुनै तयारी नगरेको बताएका थिए । नेपालले कुनै पनि देशसँग सैन्य सहकार्य सम्बन्धी सम्झौता नगर्ने खाँडको भनाइ थियो ।

तर, सन् २०१५ मा नै नेपालीसेनाले एसपीपीमा सहभागी गराउन आग्रह गर्दै लेखेको पत्र बाहिरिएको छ । काठमाडौंस्थित अमेरिकी राजदुतावासले बुधबार बेलुका नेपालले एसपीपीमा सहभागी गराउन आग्रह गर्दै पत्राचार गरेको र नेपाल २०१५ मा नै एसपीपीमा सहभागी भइसकेको जनाएको थियो ।

नेपालमा चर्चा भए जस्तो एसपीपी संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता नभएको अमेरिकी राजदुतावासको दाबी थियो ।


क्लिकमान्डु