मूल्य निर्धारण गर्न सर्वोत्तम सिमेन्टले बोलायो योग्य संस्थागत लगानीकर्तालाई



काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ्ग विधि अन्तर्गत साधारण सेयर (आइपीओ) निष्कासनका लागि मूल्य निर्धारण गर्न योग्य संस्थागत लगानीकर्तासँग छलफल गर्ने भएको छ ।

बुक विल्डिङ विधि अन्तर्गत धितोपत्रको सार्वजनिक निष्कासनका लागि धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्राप्त संस्थाहरुसँग रोड शो कार्यक्रम गर्न लागेको छ । उक्त कार्यक्रममा मूल्य निर्धारणका विषयमा छलफल हुनेछ ।

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको सार्वजनिक निष्कासन गर्न लागेको र बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (७) उपदफा (१) बमोजिम प्रारम्भिक विवरणपत्र उपर योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई सोही निर्देशिकाको दफा (८) को व्यवस्था अनुरुप आशय मूल्य (योग्य संस्थागत लगानीकर्ताले खरीद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्याङ्कनको विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव भएमा सो समेत) प्राप्त गर्ने प्रयोजनका लागि उक्त कार्यक्रम गर्न लागेको बताइएको छ ।

उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्राप्त संस्थाहरुलाई सहभागी हुन अनुरोध गरिएको छ । उक्त कार्यक्रम असार १९ सवा ३ बजे र्यडिसन होटलमा कार्यक्रम हुनेछ ।


क्लिकमान्डु