सहकारी बैंकका एकै सदस्यले पाए संरक्षित पुँजी फिर्ता कोषबाट ५७ लाखसम्म



काठमाडौैं । राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७ लाख रुपैयाँसम्म संरक्षित पुँजी फिर्ता कोष बापतको रकम प्राप्त गरेका छन् ।

बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट गरेको छ । बाँडफाँटमा एउटै सदस्यले करिब ५७ लाख रकम प्राप्त गरेको बताइएको छ ।

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ-संस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा १७ करोड ७१ लाख ७४ हजार २ सय १९ रुपैयाँ संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको हो ।

कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ-संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए ।

उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १३ हजार ७१२ सहकारी संघ-संस्थाहरुको संरक्षित पुँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ५६ लाख ५२ हजार तथा कर्जा तर्फ १३ लाख ७८ हजारसम्म प्राप्त गरेको सीइओ गुरागाईले बताए ।

‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजार भन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ-संस्थाहरु ६९९ रहेका छन् । हाल बैंकमा करिब १५ हजार भन्दा बढी सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् ।

यस अघि बैंकले आफ्ना सदस्य सहकारी संघ-संस्थाहरुलाई आर्थिक वर्ष २०७७/०७८ को लागि बैंकको १८ औं वार्षिक साधारण सभाबाट पारित गरी १५ प्रतिशत लाभांश वापतको रकम साधारण सभा सम्पन्न गरेको दिन गत पौष ३० गते वितरण गरेको थियो ।

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ ले गरेको व्यवस्था पछि सहकारीहरुको केन्द्रीय निकायहरु मध्ये निरन्तर संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुलाई रकम बाँडफाँड गर्ने बैंक पहिलो हो । सहकारीका अन्य केन्द्रीय निकायहरुले शेयरको आधारमा वितरण गरे पनि बैंकले बचत र कर्जा कारोबारको आधारमा वितरण गर्दै आएको छ ।


क्लिकमान्डु