धितोपत्र कारोबार सञ्चालन विनियमावली पारितः ब्रोकरलाई टीएमएस राख्ने बाटो खुल्यो, के-के छन् मापदण्ड ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र कारोबार सञ्चालन (तेस्रो संसोधन) विनियमावली, २०७९’ स्वीकृत गरेको छ । उक्त विनियमावली स्वीकृत भएसँगै आइतबारदेखि कार्यान्वयमा आउने छ ।

नेप्सेको गत साता बसेको सञ्चालक समितिको बैठकले उक्त विनियमावली स्वीकृत गरेको हो । नेप्सेले उक्त विनियमावली स्वीकृत गरेसँगै धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई आफ्नै धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) राख्न बाटो खुलेको छ ।

यस्तै ब्रोकरले चलाउने टीएमएसको सूनिश्चितताका लागि चाहिने आवश्यक हार्डवयर तथा सफ्टवेयरको फेल ओभर सम्बन्धी व्यवस्था र सोको समय समयमा परीक्षणको लागि मापदण्ड पुरा गरेको हुनुपर्ने छ ।

उक्त मापदण्डमा नेटवर्क सम्बन्धी घटना, गडबडी र आक्रमण पहिचानको लागि सुरक्षा अनुगमन प्रणाली स्थापना गरिएको हुनुपर्ने, साइबार आक्रमण सम्बन्धी घटना र समस्याहरुको निराकरणका लागि तत्काल सम्बोधन गर्ने व्यवस्था तथा सुरक्षाको लागि अनुगमन र सम्बोधन गर्ने प्रणाली स्थापना गरेको हुनुपर्ने छ ।

विजनेश रिकभरी म्यानेजमेन्ट र रेस्पोन्स सिस्टम स्थापना भएको, डिजास्टर रिकभरी साइट स्थापना गरिएको, टीएमएसका लागि आवश्यक पर्ने सर्भर, भण्डारण क्षमता, सुरक्षा व्यवस्था, नेटवर्क र सैन स्वीच तथा अन्य पूर्वाधार नेप्सेले तोके बमोजिम हुनुपर्ने छ ।

यस्तै सुरक्षा तथा अनुपालनाका लागि पासवर्डको सुरक्षा, निष्कृय ग्राहकको खाताको पहुँचमा रोक, कारोबार व्यवस्थापन प्रणाली चालू रहेको अवधिको सुरक्षा, कारोबार सदस्यको कोड र परिचय, अनिवार्य अग्रिम रकम वा मार्जिन संकलन, सम्परीक्षणको अभिलेख र लगइन ट्रयाक हुनुपर्ने छ ।

नेप्सेले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, २०७९ तयार पारेकाे छ । जसमा ब्रोकर आफैले टीएमएस चलाउने भएपछि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ । सिस्टम एन्ड नेटवर्क एडमिनिस्ट्रेटर-डाटाबेस एडमिनिस्ट्रेटर एक जना र सहायक कर्मचारी एक जना राख्नुपर्ने छ ।

सूचना प्रविधि जनशक्तिको शैक्षिक योग्यता तथा अनुभवमा सिस्टम एन्ड नेटवर्क एडमिनिस्ट्रेटर-डाटाबेस एडमिनिष्ट्रेटर जिम्मेवारी लिने कर्मचारीले मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित (कम्प्युटर इन्जिनियरिङ्ग, कम्प्युटर विज्ञान, सूचना प्रविधि व्यवस्थापन वा सो सरहको) विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित विषयमा कम्तीमा तीन वर्षको कार्यानुभव प्राप्त गरेको हुनुपर्दछ ।

सहायक कर्मचारीको हकमा सहायक कर्मचारीले मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण (कम्प्युटर इन्जिनियरिङ्ग, कम्प्युटर विज्ञान, सूचना प्रविधि व्यवस्थापन वा सो सरहको) गरेको हुनुपर्नेछ ।

ब्रोकरले डाटा रिकभरी साइटको व्यवस्था गर्नुपर्ने छ । कारोबार सदस्यहरुले कारोबार व्यवस्थापन प्रणाली सञ्चालन गर्न डाटा सेन्टर तथा डाटा रिकभरी साइटको व्यवस्था गर्नुपर्नेछ । सोको प्राविधिक स्पेसिफिकेसन नेप्सेले तोके बमोजिम हुनेछ । कारोबार व्यवस्थापन प्रणालीको निर्वाध सञ्चालन सम्बन्धी सम्पूर्ण दायित्व कारोबार सदस्य आफैंमा निहित हुनेछ ।

नेप्सेले विनियमावली संसोधनका लागि बोर्डमा मस्यौदा पठाएको थियो । बोर्डले उक्त मस्यौदा आवश्यक संशोधन गरेर स्वीकृतका लागि नेप्सेमा पठाएको थियो । नेप्सेले स्वीकृत गरेको छ ।


क्लिकमान्डु