आइपीएल बन्यो विश्वकै दोस्रो महंगो खेल प्रतियोगिता, मिडिया राइट्स पौनै ८ खर्बमा बिक्री



इन्डियन प्रिमियर लिग (आइपीएल) विश्वको सबैभन्दा दोस्रो महंगो लिग बन्न सफल भएको छ । आइपीएलले इपीएललाई पछाडि पार्दै दोस्रो स्थान ओगट्न सफल भएको हो । आइपीएलभन्दा महंगो लिग एनएफएल छ । एनएफएलबाट प्रतिम्याच २ अर्ब रुपैयाँभन्दा बढी प्राप्त हुन्छ ।

आइपीएलको आगामी ५ सिजन (२०२३(२७) सम्मको मिडिया राइट्सको लिलामी गरिएको छ । मंगलबार भएको लिलामीमा ५ सिजनका लागि बीसीसीआईले ७ खर्ब ७४ अर्ब २४ करोड रुपैयाँमा बिक्री गरेको छ ।

डिज्नी स्टारले इन्डियन सबकन्टिनेन्टको टेलिभिजन राइट्सलाई ३ खर्ब ८० अर्ब रुपैयाँमा खरिद गरेको छ । साथै वायकम १८ ले इन्डियन सबकन्टिनेन्टको डिजिटल राइट्सलाई ३ खर्ब २८ अर्ब रुपैयाँमा खरिद गरेको छ । साथै, ९८ वटा म्याचको नन एक्सिक्लुसिभ डिजिटल राइट्सलाई ५२ अर्ब ११ करोड रुपैयाँमा खरिद गरिएको छ ।

इन्डियन सबकन्टिनेन्टभन्दा बाहिरको राइट्सका लागि वायकम १८ तथा टाइम्स इन्टरनेटले खरिद गरेका छन् । उनीहरुले १६ अर्ब ९१ करोड रुपैयाँको बोलि लगाएका थिए । यी चार वटा प्याकेजलाई कुल ७ खर्ब ७४ अर्ब २४ करोड रुपैयाँमा खरिद गरिएको हो ।

स्टार टिभीमा प्रसारण गर्नका लागि एक म्याचका लागि ९२ करोड रुपैयाँ उपलब्ध गराइने छ । वायकम १८ डिजिटल प्लेटफर्ममा प्रसारणका लागि प्रतिम्याच ८० करोड रुपैयाँ दिइनेछ ।

प्रत्येक सिजनको नन एक्सिक्लुसिभ म्याचका लागि प्रतिम्याच ५३ करोड रुपैयाँ दिइने छ । गत सिजनमा स्टारले टिभी तथा डिजिटल राइट्स दुबैका २ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँमा खरिद गरेको थियो । यसपटक उक्त रकममा करिब तीन गुणाले बृद्धि भएको छ ।

साथै बीसीसीआइलाई प्रतिम्याच १ अर्ब ८८ करोड रुपैयाँ प्राप्त हुनेछ । आइपीएलले आगामी २०२५ र २६ सालमा हुने प्रतियोगितामा खेल संख्या ७४ बाट बढाएर ८४ वटा बनाउनेछ ।


क्लिकमान्डु