प्रभु क्यापिटलले ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम-२०२२’ सञ्चालन गर्ने



काठमाडौं । प्रभु क्यापिटलले असार १ गतेदेखि विभिन्न विश्वविद्यालय तथा कलेजमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीलाई समेटेर ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम-२०२२’ सञ्चालन गर्ने भएको छ ।

विद्यार्थीहरुमा नेपालको पूँजी बजार, लगानी व्यवस्थापन एवं शेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपालमै पहिलोपटक यस किसिमको वित्तिय साक्षरता अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

कार्यक्रममा प्रत्येक महिना १ गतेबाट महिनाको अन्तिम कारोबार दिनसम्म सञ्चालन हुनेछ । असार महिनाबाट शुरु हुने ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२’ मा ५ वटा कलेजका ३६ जना विद्यार्थी सहभागि हुनेछन् । असार महिनाको पहिलो ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२’ असार १ गतेबाट शुरु भई असार ३१ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा विद्यार्थीहरुले सेयर कारोबार हुने प्रत्येक दिन आफ्नो तर्फबाट खेलमा सहभागिता जनाउनुपर्नेछ । असार महिनाको अन्तिम कारोबार दिनसम्म खेल्दै आउँदा जसले धेरै अंक हासिल गर्छन् उनीहरु विजयी हुनेछन् । यो खेल मा प्रथम हुनेलाई कार्यक्रमको अन्त्यमा १० हजार रुपैयाँ बराबरको प्रभु सेलेक्ट फण्ड प्रदान गरिनेछ ।

साउन महिनाको खेलमा सहभागी हुन चाहने कलेज तथा विद्यार्थीहरुले कलेजको सिफारिस सहित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा असार १५ गते भित्र सम्पर्क गरिसक्नुपर्नेछ ।


क्लिकमान्डु