बजार २ हजार बिन्दुबाट झर्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका कारण सेयर बजारमा निरन्तर गिरावट आएको लगानीकर्ताको तर्क छ ।

सेयर लगानीकर्ताका अनुसार अहिले सेयर बजारको बाधक नेपाल राष्ट्र बैंकको ४,१२ को नीति बनेको छ । नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल राष्ट्र बैंकका गभर्नर अधिकारीले लिएको नीतिका कारण सेयर बजार रातम्मे बनेको तर्क गर्छन ।

‘मौद्रिक नीतिबाटै ४/१२ को नीतिले च्यापेको छ, अहिले बजारमा लगानीयोग्य रकमको अभाव छ’ उपाध्यक्ष लम्सालले भने, ‘अहिले लगानीकर्ता ऋण सेटल गर्दा लाग्दा बजार प्यानिक बनेको हो ।’ राष्ट्र बैंकले ४,१२ को नीति ल्याएको थिएन भने बजार यसरी नघट्ने उनको तर्क छ ।

राष्ट्र बैंकले लिएको नीतिका कारण लगानीकर्ताले एउटा बैंकबाट ४ करोड र समग्र बैंकबाट १२ करोडभन्दा ऋण पाउने छैनन् । त्यसलाई सीमामा ल्याउनुपर्ने बाध्यता लगानीकर्तालाई छ । जसको असर अहिले बजारमा परिरहेको छ ।

‘अब ऋणको सिमा नवीकरण गर्ने बेला भयो,’ उपाध्यक्ष लम्सालले भने, ‘ऋण नवीकरण नगरे बैंकले मान्दैन, ऋण बोकेर बस्नुभन्दा नोक्सानी व्यहोरेरै भएपनि सेयर बिक्री गर्न थालेको देखिन्छ ।’

बजार बढ्नका लागि ठूला लगानीकर्ता बजारमा आउनुपर्छ । राष्ट्र बैंकको ४,१२ को नीतिले गर्दा ठूला लगानीकर्ता बजारमा आउन सक्ने सम्भावना न्यून प्रायः रहेको उनको भनाइ छ । अहिले जति सेयर बिक्री भएको छ, सबै लगानीकर्ताले नोक्सानी भोग्नु परेको लम्सालले बताए ।

राष्ट्र बैंकको नीतिले गर्दा अहिले सेयर किन्ने लगानीकर्ता कम भएको र नोक्सानी नै व्यहोरेर भएपनि बिक्री गर्नेको चाप बढेको छ । सक्ने लगानीकर्तालाई यतिबेला घाटा व्यहोरेर सेयर नबेच्न लम्सालको सुझाव रहेको छ ।

मंगलबार बजार ३६.०७ अंकको गिरावट आउँदा परिसूचक १९९६.२६ बिन्नुमा रोकिएको छ । २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता सेयर १ अर्ब १्र८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक १२.४६, विकास बैंक ७६.८२, जलविद्युत ६६.३८, जीवन बीमा १८६.८८, उत्पादन तथा प्रशोधन ६७.६३, माइक्रोफाइनान्स ७७.२०, निर्जीबन बीमा समूहको उपसूचक २४२.७३ अंकले घटेको छ ।


क्लिकमान्डु