निम्बस ग्रुपको कारोबार बार्षिक ११ अर्ब, ३५ प्रतिशतले बढ्यो



काठमाडौं । निम्बस ग्रुप अन्तर्गतको प्रोबायोटेक प्रालिले एकै वर्ष ११ अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२१ मा मात्रै ११ अर्ब १० करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीका अनुसार सन् २०२० को तुलनामा सन् २०२१ मा ३५ प्रतिशतले बढी कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा ८ अर्ब २५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, सन् २०१९ मा ७ अर्ब ७३ करोड ७० लाख रुपैयाँ र सन् २०१८ मा ६ अर्ब ५ करोड रुपैयाँको कारोबार गरेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले विगत तीन वर्षदेखि निरन्तर २३ प्रतिशतले वार्षिक कारोबार बढाउँदै लगेको जनाएको छ । निम्बस कम्पनीअन्तर्गत सन् २००१ मा प्रोबायोटेक इन्डस्ट्रिज प्रालि कम्पनीमार्फत गाईवस्तुको दाना, दाल तथा दलहनको बिक्री, तेल तथा दलहनको बिक्री गर्दै आएको छ ।

वार्षिक १ लाख मेट्रिक टन विभिन्न प्रकारका खाद्यान्न, ४० हजार मेट्रिक टन भटमास तेल निर्यात, ३३ हजार मेट्रिक टन पाम तेल, ६ हजार मेट्रिक टन मैदा तथा पिठो र १५ हजार दाल उत्पादन क्षमता रहेको कम्पनीले सन् २०२१ मा हालसम्मकै उच्च कारोबार गरेको छ ।

कम्पनीले विभिन्न ब्रान्डका ब्यन्जन, शक्ति, शक्ति हाइ–गेन, सोयाम्याक्स, सुनौलो किरन, प्राभिट र प्रोमिन ब्रान्डका खाद्यान्न वस्तु बिक्री गर्दै आएको छ ।

प्रोबायोटेक कम्पनीमा निम्बस ग्रुपको ६४ प्रतिशत सेयर होल्डिङ र बाँकी सयर निम्बस ग्रुपमा आबद्ध व्यक्तिहरूको रहेको छ । वीरगञ्ज २१ मा लिपानी बिर्तामा रहेको कम्पनीलाई इक्रा नेपालले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि ४ अर्ब ३४ करोड १० लाख रुपैयाँको रेटिङ दिएको छ । जसमा कम्पनीले ४३ करोड १० लाख रुपैयाँ दीर्घकालीन कर्जा र ३ अर्ब ९१ करोड रुपैयाँ अल्पकालीन कर्जाको रेटिङ पाएको छ ।


क्लिकमान्डु