नेपालीले विदेश घुम्दा ७२ अर्ब रुपैयाँ खर्च गरे, नेपालको पर्यटन आम्दानी २५९ प्रतिशतले बढ्यो



काठमाडौं । कोरोना महामारीको असर कम हुँदै गएपछि नेपालबाट विदेश घुम्न जानेको संख्या बढेको छ । विदेश घुम्न जानेको संख्या बढेसँगै नेपालबाट विदेश घुम्दा बाहिरिने रकमसमेत गत वर्षभन्दा १४९ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा नेपालीले विदेश घुम्दा पछिल्लो ३ वर्ष यताको धेरै रकम खर्च गरेका छन् । कोरोना महामारी शुरु भएको वर्ष २०७६/७७ मा नेपालीले विदेश घुम्दा ५३ अर्ब १३ रुपैयाँ खर्च गरेको थिए ।

कोरोना महामारीले आवागमनमा अवरोध भएपछि गत आर्थिक वर्षमा नेपालीले विदेश घुम्दा ३२ अर्ब ८० करोड रुपैयाँ खर्चमात्रै खर्च भएको थियो । चालु आर्थिक वर्षमा कोरोना महामारीका कारण लागेको प्रतिबन्ध खुल्ला हुदाँ विदेश घुम्न जानेको संख्या बढेपछि गत साउनदेखि बैशाखसम्म नेपालीले विदेश घुम्दा ७७ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेका छन् ।

यो आर्थिक वर्ष समाप्त हुन दुई महिना बाँकी रहेकाले यस वर्ष विदेश घुम्दा हुने खर्च पछिल्लो ५ वर्ष यताकै धेरै हुने देखिन्छ ।

चालु आर्थिक वर्षको १० महिनामा नेपालले पयर्टन क्षेत्रबाट भित्र्याएको रकमभन्दा नेपालीले विदेश घुम्दा गरेको खर्च ४९ करोड ६२ अर्ब रुपैयाँ बढी छ । तर पनि यो वर्ष विदेशी पर्यटकको संख्यामा भइरहेको बृद्धिले नेपालले पर्यटन क्षेत्रबाट कमाउने रकम गत आर्थिक वर्षकोे १० महिनाको तुलनामा २५९ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष विदेशीले नेपालले पर्यटन क्षेत्रबाट ७ अर्ब २६ करोड रुपैयाँ कमाएको थियो । चालु आर्थिक वर्षको १० महिनामा पर्यटन क्षेत्रको आम्दानी २२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

कोरोना महामारी शुरु भएको वर्ष २०७६/७७ मा भने पर्यटन क्षेत्रबाट ६० अर्ब ८८ करोड रुपैयाँ आम्दानी भएको थियो ।

नेपालले पर्यटनबाट हालसम्मको सबैभन्दा धेरै आर्थिक वर्ष २०७४/७५ मा ७५ अर्ब ३७ करोड रुपैयाँ कमाएको थियो ।

नेपालले पयर्टन क्षेत्रबाट कमाएको अहिले सम्मकै धेरै रकम भन्दा बढी रकम चालु आर्थिक वर्षको १० महिनामै नेपालीले विदेश घुम्दा खर्च गरिसकेका छन् ।

भाषणामा सरकारी अधिकारीले पर्यटन विदेशी मुद्रा भित्र्याउने महत्वपूर्ण स्रोत रहेको बताउँने गर्छन् । तर, नेपार राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालले पर्यटन क्षेत्रबाट भित्र्याउने रकमभन्दा नेपालबाट पर्यटन शिर्षकमा बाहिरिने रकम बढी छ ।

पर्यटन क्षेत्रमा हुने कारोबारको ठूलो हिस्सा करको दायरभन्दा बाहिर रहेका पर्यटन क्षेत्रबाट हुने आम्दानी भन्दा खर्च बढी देखिने गरेको एक होटल व्यवसायी बताउँछन् ।

‘अहिले पर्यटक आउन शुरु भएपछि हाम्रो आम्दानी बढेको छ । तर, सरकारको रेकर्डमा डलर आएको देखिएको छैन् ,’ ठमेलमा होटल सञ्चालन गर्दै आइरहेका एक व्यवसायी भन्छन्, ‘सरकारले विदेशी मुद्राको अवैध कारोबारलाई रोक्न नसक्दा सम्म पर्यटन क्षेत्रबाट हुने आम्दानीको ठूलो हिस्सा सरकारी रेकर्डमा आउन कठिन छ ।’


क्लिकमान्डु