३ प्रतिशतले बिक्री बढेको अग्नि सिमेन्टको नाफा घट्यो



काठमाडौं । अग्नि सिमेन्ट उद्योग प्रालिको आम्दानी ३.६० प्रतिशतले बढेको छ । बजारमा सिमेन्ट उद्योगको उच्च प्रतिस्पर्धाको अवस्थामा पनि सन् २०२० को तुलनामा सन् २०२१ मा ३.६० प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ३५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा १ अर्ब ३० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०१९ मा १ अत्रर्ब ९७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको सन् २०२१ मा १७ प्रतिशतले सिमेन्ट बिक्री बढेको जनाएको छ । गत वर्ष १ लाख ४६ हजार मेट्रिक टन सिमेन्ट बिक्री गरेको कम्पनीको भनाइ छ । सन् २०२० मा १ लाख २४ हजार ४१७ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो ।

यद्यपी कम्पनीले बिक्री गर्ने पीपीसी सिमेन्टको मूल्य घटेर प्रतिबोरा ४३६ रुपैयाँ र ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ५३३ रुपैयाँ बिक्री गरेको जनाएको छ ।

सन् २०२० मा कम्पनीले उक्त पीपीसी सिमेन्ट प्रतिबोरा ५३० रुपैयाँ र ओपीसी प्रतिबोरा ६०८ रुपैयाँ बिक्री गरेको थियो । सिमेन्टको मूल्य घट्दा सन् २०२० को तुलनामा गत वर्ष नाफा घटेको कम्पनीको भनाइ छ ।

कम्पनीले अहिले ग्रान्डिङ सिमेन्ट मात्रै उत्पादन गर्दै आएको छ ।

कम्पनीले अन्य सिमेन्ट उद्योगबाट क्लिङ्कर खरिद गर्दै आएका छन् भने स्ल्याग र अन्य कच्चा पदार्थ भारतबाट आयात गरी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले विभिन्न ४ वटा ब्रान्ड जस्तै– अग्नि, ओरियन्ट, त्रीदेवीको ब्रान्डको पीपीसी र अल्फा ब्रान्डको ओपीसी सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले ९ वटा अञ्चल र ३१ वटा जिल्लामा उच्च बिक्री वितरण गर्दै आएको जनाएको छ । कम्पनीको प्रति दिन ९ सय मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले उल्लेख गरेको छ ।

११ वर्षदेखि निरन्तर ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीको अध्यक्ष कृष्ण प्रसाद पोखरेल हुन् भने प्रबन्ध निर्देशकको रुपमा तारा प्रसाद पोखरेल हुन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि लागि ८० करोड ५६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीलाई दीर्घकालीन कर्जाका लागि ११ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६९ करोड रुपैयाँ रेटिङ गराएको हो ।


क्लिकमान्डु