१ अर्बको कारोबार गर्ने गण्डकी मेडिकल कलेजको १ अर्बकै ऋण



काठमाडौं । पोखरामा रहेको गण्डकी मेडिकल कलेज हस्पिटल तथा रिसर्च सेन्टर प्रालिले एक अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२१ मा मात्रै १ अर्ब ७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२० मा ९७ करोड रुपैयाँ, सन् २०१९ मा ८८ करोड ८० लाख रुपैयाँ र सन् २०१८ मा ८९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीअनुसार सन् २०२० को तुलनामा सन् २०२१ मा ११ प्रतिशतले बढी आम्दानी गरेको छ । कोरोना महामारीले गर्दा उच्च जोखिम र बजारमा प्रतिस्पर्धा रहेको अवस्थामा पनि कम्पनीले ११ प्रतिशतले आम्दानी बढाएको कम्पनीको दाबी छ ।

अहिले कम्पनीले हस्पिटल क्षेत्रलाई उच्च प्राथमिकता राखेको हुनाले बिरामीको संख्या बढ्दै गएको छ । जुन सकारात्मक पक्ष रहेको छ । कम्पनीले गत वर्ष १ अर्ब बढी आम्दानी गर्दा २४ प्रतितशले नाफा बढेको जनाएको छ ।

कास्की जिल्लाको पोखरामा २०१० मा स्थापना भएको कम्पनीमा ५५० शेय्याको क्षमता रहेको छ । जसमा हस्पिटल क्षेत्रको आम्दानी २६ प्रतिशतले बढेको छ भने मेडिकल कलेजको आम्दानी ७ प्रतिशतले घटेको कम्पनीको भनाइ छ ।

सन् २०२०/ २१ मा नयाँ समूहका लागि भर्ना समय ढिला हुँदा ७ प्रतिशतले कलेजको आम्दानी घटेको कम्पनीले जनाएको छ ।
सन् २०२१ मा कोभिडको बिरामी उच्च भएकाले आम्दानी पनि बढेको छ । तर, समग्रमा अन्य बिरामीको संख्या भने घटेको छ ।

कम्पनीअनुसार सन् २०२० को ९ महिनाको अवधिमा ओपीडीको बिरामी बढ्ने अनुमान गरेको छ । जसमा कम्पनीले २३ प्रतिशतले बिरामी संख्या बढ्ने कम्पनीको दाबी छ ।

कम्पनीले नेपालमा मेडिकल क्षेत्रमा विभिन्न कक्षा सञ्चालन गर्दै आएको छ । हरेक वर्ष सरकारले तोकेको कोटाअनुसार कलेजले एमबीबीएस कक्षा सञ्चालन गर्दै आएका छन् । त्यसैगरी कम्पनीले स्वास्थ्य सम्बन्धी विज्ञानको कोर्स, बीडीएस, नर्सिङ, बीएनएस, बीएससी.एमआइटी, बीएससी. एमएलटी, बीपीएच, बी–फर्मा र पोस्टग्राजुयड प्रोग्राम सञ्चालन गर्दै आएका छन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९८ करोड रुपैयाँको रेटिङ दिएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ८४ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १३ करोड ५० लाख रुपैयाँको रेटिङ पाएको छ


क्लिकमान्डु