सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गरे, ब्याज र सेवा शुल्क बढि लिए: रजिस्ट्रार पण्डित



काठमाडौं । सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेको, बढी ब्याज लिने र सेवा शुल्क बढी लिएको लगायतमा गुनासो आउने गरेको बताएका छन् ।

उनले सहकारी संस्थाहरुलाई त्यस्तो नगर्न उनले आग्रह गरेका छन् । राजधानीमा आयोजित चौथो साकोस शिखर गोष्ठीको उद्घाटनका क्रममा यस्तो बताएका हुन् ।

पण्डितले सहकारीलाई आफु बैंक जस्तो नठान्न आग्रह गर्दै बैंकको जस्तो अभ्यासले सहकारीको भलो नहुने बताए । ‘एउटा सहकारीको कारण सबै सहकारी बदनामी हुनु पर्ने अवस्था नआओस्’ उनले भने ।

हालै सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनलाई कार्यान्वयन गर्न उनले आग्रह गरे । सहकारी अभियान र सरकारले समन्वय गरेर अगाडि बढ्नु पर्ने पनि धारणा राखे ।

सहकारीका नीति, योजना कार्यक्रम बनाउन तथ्यांक आवश्यक हुने बताउँँदै उनले सम्पूर्ण सहकारी कोपोमिसमा आवद्ध हुनु आग्रह गरे । ३० हजार सहकारी संस्थाहरुमा २६ प्रतिशत मात्रै सहकारीका विवरण प्राप्त भएको र थप अद्यावधिक गर्न आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सरकारले सहकारीको आयकरको दर बढाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

आयकरको दर पुरानै कायम गर्न उनले सरकारलाई आग्रह गरे । उनले बचत तथा ऋण सहकारी संस्थाको नियमनको लागि छुट्टै बचत ऋण ऐनको माग समेत गरे ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोरोना महामारीले सृजना गरेका वित्तीय सक्षमता, स्थिरता र स्वस्थताका विषयको यथोचित सम्बोधन गर्ने दाबी गरे ।

साकोस अभियानको शक्ति, सामथ्र्य र सहनशीलताको बलमा चुनौतीहरु सामना गर्न सकिने विश्वास व्यक्त गरे । उनले लामो बहसपछि बचत ऋण सहकारीहरुका लागि स्थिरीकरण कोष सञ्चालनमा आएपनि यसका कतिपय कानुनी प्रावधानहरु अभियानमैत्री बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

आइतबारबाट चौथो साकोस शिखर गोष्ठी काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने गोष्ठीमा देशभरका करिब ७ सय बचत ऋण सहकारीकर्मीहरुको उपस्थिति रहेको छ ।


क्लिकमान्डु