स्वास्थ्य र शिक्षालाई सेवामुलक बनाइनेछ, यी मेरा प्राथमिकताका क्षेत्र हुन् : मेयर बालेन शाह



काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले स्वास्थ्य र शिक्षा क्षेत्र व्यापारिक नभइ सेवामुलक हुनुपर्ने बताएका छन् ।

छत्रपाटी निःशुल्क चिकित्सालयको अवलोकनपछि प्रमुख शाहले यस्तो धारणा राखेका हुन् । ‘स्वास्थ्य र शिक्षा मेरो प्राथमिक भिजन एजेन्डा हो । सामुदायिक अस्पताल र सामुदायिक विद्यालयहरुको गुणस्तर बढाउन हामी यही आर्थिक बर्षदेखि काम थालनी गर्नेछौँ । महानगरका आफ्नै वार्ड क्लिनिकहरुको सेवालाई स्तरीय बनाउँदै लानेछौँ’ उनले भने, ‘सामुदायिक अस्पतालहरुसँग सहकार्य गर्ने तथा आफै अस्पताल सञ्चालन गर्ने विषयमा हामी थप छलफल गर्नेछौँ । सामुदायिक विद्यालयको खेल मैदान व्यवस्थापन, सरसफाइ र शिक्षकहरुको तालिमका लागि काम गर्नेछौँ ।’

अस्पताल अवलोकनपछि आफूले सरसफाइ राम्रो पाएको, कम शुल्कमा सेवा राम्रो दिएको अनुभूति गरेको प्रमुख शाहको भनाइ थियो । नयाँ भवन बनेपछि पार्किङ्को समस्या कम उनको विश्वाश थियो ।

वडाध्यक्ष नविन मानन्धरले, निःशुल्क सेवाका लागि खोलिएको अस्पतालले मागअनुसार धेरै सेवा दिनु पर्ने भएकोले पूर्ण निःशुल्क उपचारलाई निरन्तरता दिन कठिन भएको बताए ।

‘विपन्नहरुलाई अझै पनि उपचार निःशुल्क छ । अन्यलाई पनि सेवा शुःक सहुलियत छ ।’ मानन्धरले प्रमुख शाहसँग वडाको अपेक्षा राख्दै भने, ‘विपन्नहरुको निःशुल्क उपचारलाई निरन्तरता दिन १ करोड रुपैयाँको अक्षयकोष स्थापना गरौँ ।’


क्लिकमान्डु